प्रजिअ र प्रहरीप्रमुख नै खटिए सुरक्षामा

हेटौँडा, १२ माघ
हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिनुभएको छ । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।
मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान केन्द्रबाहिर र मतदान आसपासको १०० मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ३०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीप्रमुख गुरुङले बताउनुभयो ।
प्रहरीप्रमुख गुरुङको नेतृत्वमा जनपद तथा ट्राफिक प्रहरीसमेत १८० र सशस्त्र प्रहरी १४ नं गण हेटौँडाका प्रहरी उपरीक्षक नेतृत्वमा ६० सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य र जनप्रतिनिधिलाई मतदानका लागि छुट्टै केन्द्र तथा मतपत्रको व्यवस्था गरिएको छ । समाचार सङ्कलनमा रहेका सञ्चारकर्मीलाई आलोपालो गरेर प्रवेश गर्न दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्