सरकार र नेपालगञ्जका आन्दोलनरत पक्षबीच सहमति भएको छ । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरू र सरकारको तर्फबाट गृह मन्त्रालयका प्रवक्तासहितको टोलीबीच आज मङ्गलवार बेलुकी सहमति भएको हो ।

धर्नाको नेतृत्व गरिरहनुभएकी अधिकारकर्मी रुबी खानले सहमति भएको विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले आफूहरूको धर्ना र आन्दोलनको कार्यक्रम स्थगित भएको बताउनुभयो ।

सरकार र आन्दोलनरत पक्षबीच चार बुँदे सहमति भएको हो । यस विषयमा सीआईबीबाट छानबिन गर्ने, उजुरीकर्ता र साक्षीको सुरक्षाको प्रत्याभूति गर्ने, यस विषयमा प्रशासनिक सहजीकरण र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने विषयमा सहमति भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

यसअघि नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनशन बस्नुभएकी रुबी खानले अनशन तोड्नुभएको थियो । पीडितको न्यायका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाए पनि कार्यान्वयनमा नआएको भन्दै रुबी खानको नेतृत्वमा फेरि धर्ना कार्यक्रम सुरु भएको थियो ।