गलकोट, १२ पुस  

यहाँको एक धामले धार्मिक गतिविधिसँगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथले अगाडि बढाएको छ । मुठ्ठिदानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो ।     
    
बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका लागि धाममै औषधालयको सेवा दिन थालेको छ । तिरुपति बालाजीधाममा लामो समयदेखि मुक्तिनाथ वेद विद्याश्रम अन्तर्गत संस्कृतको अध्यापनहुँदै आएको थियो ।    
    
 पछि धामकै नेतृत्वमा श्रीधरआचार्य शालग्राम सङ्ग्रहालय निर्माण भएको थियो । शालग्राम सङ्ग्रहालय निर्माण भएको दुई वर्षपछि अहिले श्रीधरआचार्य औषधालय स्थापना गरिएको छ । मन्दिरको आन्तरिक स्रोत तथा स्थानीय युवाको सहयोगमा बागलुङ नगरपालिका–४ कुँडुलेस्थित तिरुपति बालाजीधाम र शालग्राम सङ्ग्रहालयमा श्रीधराचार्य औषधालय निर्माण गरी सेवा दिन थालिएको तिरुपति बालाजीधाम तथा श्रीधर आचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो ।    
    
“धार्मिक संस्थामै औषधि उपचार भएको पाइदैन यो नमूना हो, बालाजीधामको अग्रसरता र यसलेनै सञ्चालन गर्ने गरी औषधालय निर्माण भएको छ”, प्रपन्नचार्यले भन्नुभयो,“कुँडुले गाउँमा सरकारीस्तरको स्वास्थ्यसेवा समेत छैन, सिटामोल खरिदका लागि स्थानीयवासीलाई समस्या भएपछि गुरुको नाममा औषधालय सञ्चालनमा ल्याइएको छ, अहिले एकजना स्वास्थ्यकर्मी राखेर सेवा दिन थालिसकेका छौं ।”    
    
    
 गुरुको नाममा एउटा स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने लामो समयदेखिको उद्देश्य पूरा भएको र यसलाई थप विस्तार र स्तरीय बनाउँदै लैजाने प्रपन्नचार्यको भनाइ रहेको छ । औषधालयमा प्राथमिक उपचारसँगै ‘स्टिम वाफ’बाट उपचार विधि गरिनेछ । श्रीधरआचार्य फाउण्डेसनमार्फत औषधालय निर्माण गरेर सञ्चालनको जिम्मा तिरुपति बालाजीधामलाई दिइनेछ । श्रीधरआचार्य औषधालय निर्माण गर्नका लागि स्थानीय युवा जो विदेशमा बस्दै आउनुभएको छ उहाँहरुबाट रु ११ लाख ४० हजार सहयोग भएको थियो । औषधालयको भवन निर्माणमा मात्रै रु ८ लाख खर्च भइरहेको छ ।    
    
औषधालयमा अन्य उपकरण खरिदको कामसमेत भइरहेको छ । छिट्टै बाफको माध्यमबाट उपचार गर्ने प्रविधि जडान हुँदैछ । रु २५ लाख बराबरको कोष बनाएर औषधालय सञ्चालन गरिने लक्ष्य बालाजीधामको छ । शालग्राम सङ्ग्रहालय भ्रमणमा आएका धार्मिक पर्यटक, गाउँले, विद्यार्थी र बालविकास केन्द्रलाई औषधालय निर्माणपछि सहज हुनेछ । “ कोरोनापछि गाउँमा औषधालयको खाँचो देखिएको थियो”, प्रपन्नचार्यले भन्नुभयो,“अहिले औषधालयले सेवा दिन थालेको छ, कोरोना जस्ता महामारीमा सहज हुनेछ भनेर औषधालय निर्माण गरेका छौं ।”    
    
औषधालयमा स्थानीयवासी डोलेन्द्र आचार्यले ४३ हजारको औषधि सहयोग गर्नुभएको छ । कुनै सरकारीस्तरको नभएपछि मुठ्ठीदानबाट भए पनि जनताको सेवामा औषधालय सञ्चालन भएको छ । औषधालय निर्माणका लागि कुँडेलेका मदन केसीबाट रु एक लाख, यादव सापकोटाबाट रु एक लाख एक हजार, देवराज सापकोटाबाट रु एक लाख एक हजार, टेकनारायण पौडेलबाट रु एक लाख, गङ्गाराम सापकोटाबाट रु एक लाख, प्रकाश सापकोटाबाट रु एक लाख, रामजी सापकोटाबाट रु एक लाख, कृष्णप्रसाद सापकोटाबाट रु एक लाख, लोकनाथ सापकोटा रु एक लाख, सालिकराम सापकोटाबाट रु एक लाख, खिमलाल सापकोटाबाट रु एक लाख र बालकृष्ण कँडेलबाट रु ४० हजार सहयोग गरिएको थियो । औषधालयमा आयुर्वेद, प्राकृतिक तथा आधुनिक चिकित्सासहितको उपचार गरिने भएको छ ।