भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

झापा, ८ पुस
‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध कार्यक्रमसहित मनाएको छ ।
नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले गर्नुभएको हो । सांस्कृतिक प्रस्तुतिका साथ आयोजित समारोहमा प्रमुख अतिथि घिमिरेले बालबालिकाको सर्वांगीण विकासबिना समृद्ध राष्टको कल्पना गर्न नसकिने जनाउँदै भद्रपुर नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफूहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै भद्रपुरमा बालमैत्री अभियान सुरु गरेको र अभियानले पाएको सार्थकतापछि अहिले देशभरिका स्थानीय तहहरुका लागि सिकाइको थलो बनेको उल्लेख गर्नुभयो । सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई सम्मान गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
बालमैत्री गीतका रचनाकार सत्य राजवंशी, सङ्गीतकार हरि पौडेल, बालमैत्री बानी व्यवहार प्रदर्शन गर्ने शिक्षकका रुपमा वीरेन्द्र माविका शिक्षक गङ्गा घिमिरे, पूर्वशिक्षक कैलाश राईलगायत भद्रपुरको बालमैत्री अभियानमा सक्रिय साथ सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान गरिएको थियो । दिवसकै सन्दर्भ पारेर एक सातासम्म सञ्चालन गरिएका विभिन्न विधाका प्रतियोगिताका विजयी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा छ विपन्न विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । समारोहमा प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं, बालमैत्री अभियानकर्मी सुमन ढकाल, इटहरी नगर बाल सञ्जालका अध्यक्षलगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्