भक्तपुर, २३ मङ्सिर
सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ ।    
    
युवासङ्घ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताउनुभयो । “घटनामा अरु को–को संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ”, अध्यक्ष पौडेलले बताउनुभयो ।    
    
युवासङ्घका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पत्रकार सम्मेलनपछि युवासङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ ।