कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ ।

अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ ।

यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागू गरिएको बीबीसीले जनाएको छ । साथै राष्ट्रपति बाइडेनले स्वास्थ्यका मापदण्ड र खोपसम्बन्धी यसअघिका नियम पालना गर्न आग्रह गर्नुभएको छ ।

न्युयोर्कमा पाँच तथा मिनेसोटा, कोलोराडो र क्यालिफोर्नियामा अहिलेसम्म एकरएक जनामा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्यका अधिकारीले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षण देखिएको बताएका छन् । यस्तै दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट फेला परेपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

सङ्क्रमण पुष्टि भएका ६६ र ४६ वर्षका ती दुई पुरुषलाई निगरानीमा राखिएको छ । बुधवारदेखि नै लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बङ्ग्लादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्न थालेको छ । ती देशबाट भारत आउने यात्रुको परीक्षण गर्ने र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइने छैन ।

कोभिड पुष्टि नहुनेले सात दिन घरमा क्वरेण्टीन बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ । विश्व स्वास्थ्य सङ्गठनले अघिल्लो हप्ता नयाँ भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो।