भरतपुर, १२ मङ्सिर
बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ ।    
    
चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताउनुभयो । उहाँले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पार्नुभयो ।    
    
एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।