कोभिड नेपाल: नेपालीमा कोरोनाभाइरस विरुद्धको खोपको बुस्टर डोजबारे यस्ता छन् विज्ञका सुझाव .

११ मङ्सिर, काठमाडौं ।
स्वास्थ्य अधिकारी अनुसार नेपालमा अहिले पर्याप्त मात्रामा खोप रहेको छ । यति बेला नेपाल सरकारले खोप अभियान तीव्र बनाएको बेला बुस्टर डोजबारे पनि चासो व्यक्त भएको पाइएको छ ।
एक पटक कोभिड सङ्क्रमण भएका तथा पूणर् मात्रा खोप लगाएकाहरूको पनि ६-८ महिनापछि प्रतिरोधी क्षमता कमजोर बन्ने अनुसन्धानले देखाएका छन् ।
नेपाली विज्ञहरूले सुरुमा खोप लगाउन योग्य सबैलाई पूणर् मात्रा खोप लगाइसकेपछि मात्र बुस्टर डोजबारे सोच्न सुझाव दिएका छन् ।

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बुस्टर मात्राभन्दा अघि नेपालका सबै खोप लगाउन योग्य जनसङ्ख्यालाई पूणर् मात्रा खोप लगाउनु फलदायक हुने बताउँछन् । उनले भने, ‘बुस्टर डोज महत्त्वपूणर् भए पनि त्यसले कसरी काम गर्छ भन्ने प्रमाणहरू अपुष्ट छन्, त्यो कति फलदायक हुन्छ भन्ने पनि अहिले नै यकिन भन्न सक्ने अवस्था छैन ।’ खोप लिन बाँकी रहेका नागरिकलाई खोप पुर्याउने तर्फ ध्यान दिनुपर्ने उनले सुझाए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुनले भने, ‘लक्षित जनसङ्ख्याले खोप लगाउन अझै बाँकी रहेको र मात्रा पूरा गरेकाहरूको पनि छ महिनाभन्दा बढी अवधि पुगेकाले यी दुवैलाई मध्यनजर गरेर हेर्नुपर्ने अवस्था आएको छ ।’
उनी पहिलो प्राथमिकता सबै लक्षित समूहलाई पूणर् मात्रा खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले सबै वस्तुस्थिति र अनुसन्धानलाई नजिकबाट हेरेर त्यसैका आधारमा निणर्य गर्नुपर्ने हुन्छ ।’
खोपले कोभिडका बिरामीलाई सिकिस्त हुन र उनीहरूको मृत्यु हुनबाट बचाउने विभिन्न अनुसन्धानले देखाएका छन् । तर दीर्घरोगी र वृद्धहरूलाई पूणर् मात्रा खोपले पनि बचाउन नसकेका कैयौँ उदाहरणहरू पाइएको चिकित्सकहरू बताउँछन् ।
विभिन्न अनुसन्धानले पहिले लगाएका खोपभन्दा भिन्न खोप मिलाएर दिँदा राम्रो काम गरेको उदाहरण देखाएका छन् ।
त्यसैलाई आधार मानेर बस्न्यात बुस्टर डोजमा दुई खाले खोप मिलाउँदा राम्रो गर्ला भन्ने आफूलाई लागेको बताउँछन्।
यद्यपि यो पनि किटेरै भन्न अझै केही समय पर्खेर थप अनुसन्धानका नतिजा हेर्नुपर्ने विषय भएको उनी ठान्छन्।
दुई साताअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले अहिले नै बुस्टर डोजबारे निणर्य नगरेको बताएका थिए । सरकारको अहिलेको प्राथमिकता बुस्टर डोजभन्दा पनि सबै खोपयोग्य नागरिकलाई खोप लगाइसक्नु रहेका बताएका थिए ।
नेपालमा हालसम्म कुल जनसङ्ख्याको ३० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको विवरणले देखाउँछ । करिब २७ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।
उक्त विवरणलाई खोप लगाउन योग्य जनसङ्ख्याका हिसाबले हेर्दा बढी हुन जाने बताइएको छ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म एक करोड ७५ लाखभन्दा बढी मात्रा खोप खपत भइसकेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपालमा अनुदान पाइएको र नेपालले किनेको विभिन्न कम्पनीका गरी कुल दुई करोड ५५ लाख मात्राभन्दा बढी खोप आइसकेको छ।
त्यस्तै थप तीन करोड ५६ लाख ९१ हजार ५ सय ४८ मात्रा खोप आउने निश्चित भइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्