आजदेखि ई–पासपोर्ट, यस्ता छन् विशेषता ।

सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।
अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट ९एम आरपी चलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। मेसिन रिडेबल राहदानी एमआरपी९ बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ।
हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १ सय २० भन्दा बढी देशले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिनेछ।
ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।
साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।
प्रतिक्रिया दिनुहोस्