वीरगञ्ज, २५ कात्तिक 
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२ आँै राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्नुहुन सबै प्रदेशवासीमा अनुरोध गर्नुभएको छ ।    
    
मुख्यमन्त्री राउतले आज जारी गर्नुभएको सन्देशमा जनगणना लिनआउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । आउने गणकलाई आत्मीय व्यवहार गरौं । उहाँहरुले सोधेका सबै प्रश्न धैर्यतापूर्वक सुनेर सही जवाफ दिन सबै प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु उल्लेख छ ।    
    
केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण’ प्रदेशवासी दाजुभाइ दिदीबहिनीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुनःसम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछ, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।    
    
उहाँले सन्देशमा भन्नुभएको छ, “जनगणना तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौदेखि असोज १८ सम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणक पारिवारिक र व्यक्तिगत विवरण लिन घर–घरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ ।” उहाँले सन्देशमा तपाईले टिपाएका तथ्याङ्क गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङग गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनुपर्दैन भन्नुभएको छ ।    
    
राज्यको पुनःसंरचनापछि अर्थात देशले सङ्घीय शासन प्रणाली अङ्गाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्व छ । अझ प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । विसं २०७२ मा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो आफ्नै तथ्याङ्क थिएन । २०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छांै । तर यसपाली जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ जुनखुशीको कुरा हो, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।    
    
हाम्रो प्रदेशको जनसङ्ख्या कति छ ? कुनकुन जात जातिका मानिको बसोबास छ ? कुनधर्म र संस्कृतिका मानिस कति छन ? कुन भाषा बोल्ने मानिसको बाहुल्यता छ ? सामाजिक वहिष्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ, सन्देशमा उहाँले भन्नुभएको छ ।    
    
मुख्यमन्त्री राउतले आफूले टिपाएको सही तथ्याङ्कले आफनै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने कुरा सबैले बुझनुपर्दछ भन्नुभयो । यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको नगरेको, वडातहसम्म सामुदायिक भवनको अवस्था के कस्तो छ जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जारी सन्देशमा उल्लेख छ ।    (रासस)