डोल्पा, २३ कात्तिक

त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो ।    
    
कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढाका रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, वल्बलगायत सामान निःशुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले जानकारीदिनुभयो । डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षात्का समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको उहाँको भनाइ छ ।    
    
“जाजरकोटसम्म ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीचबीचमा नदी र खोलामा पुल छैनन् । दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दा ढुवानीमा घाटा व्यहोर्नुप¥यो ।” उहाँले गुनासो गर्नुभयो ।    
    
दैनिक घण्टौँ लोडसेडिङको मारले अध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिकले सोलार पाएपछि खुसी छन् ।    
    
सबैले पाएनन् सोलार    
    
नगरपालिकाका एक हजार ७०० घरधुरीले सोलारको लागि आवेदन दिएका थिए । माग गरेजति सबै सोलार नपाएपछि आवेदन दिएका सबै घरधुरीले सोलार नपाएको नगरपालिकाले जनाएको छ ।“सुरुमा रु १०० र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुसी थियौँ । अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो । ”, त्रिपुरासुन्दरी –१ का प्रेम शाहीले भन्नुभयो, “गरिब विपन्नकालागि सोलार भनिएको थियो । कतिपय हुने खाने र नेता र जनप्रतिनिधिले नै सोलार पाए, वास्तविक विपन्न पनि छुटेका छन् ।”    
–––