कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्।

सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्।

वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।

आइतबार सत्ता हस्तान्तरणका विषयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो। 

कांग्रेस कर्णाली प्रदेश सभा दलले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने योजना समेत बनाएको थियो। सहमति अनुसार आज चार बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो।

मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्।