मध्य भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण ७५ प्रतिशत सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । यो आयोजना वि.सं. २०७९ पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाको बाँध, बालुवा थिर्ग्याउने पोखरीलगायत मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत्गृह भवन निर्माण आउँदो पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
०७१ साउनमा आएको जुरे पहिरो, ०७२ वैशाखको विनाशकारी भूकम्प, ०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमानाकामा भएको अवरोध, ०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गएको वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९ महामारीको चपेटामा आयोजना परेको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपानेलगायतले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका थिए ।
कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब–करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङबाहेक अरू संरचनाहरूको निर्माण प्रगति उत्साहजनक देखिएको बताए ।
सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजनास्थलमा ल्याइसकेको जनाइएको छ । गएको वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पुर्याएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरूमध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको एक, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको एक र सिन्धु भोटेकोसी हाइड्रोपावर लिमिटेडको एक प्रतिशत सेयर छ ।
४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत रहेका छन् ।
कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्