काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । पार्टीको केन्द्रीय विशेष समितिको बैठकले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि कात्तिक २७ देखि ३० गतेसम्मलाई महाधिवेशनको मिति तोकिएको थियो ।

यसैगरी सक्रिय सदस्य बनाउने म्याद कात्तिक १५ गतेसम्म लम्ब्याइएको छ भने दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर अन्तिम नामावली ३० कात्तिकमा सार्वजनिक हुनेछ ।

सक्रिय सदस्यहरुले मंसिर १, २ र ३ गते महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । बैठकले महाधिवेशनको तयारीका लागि समितिहरु पनि बनाएको राप्रपाले जनाएको छ ।