आगामी निर्वाचन मेरा लागि अन्तिम हुनसक्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा एमालले गर्ने महाधिवेशनले आफूलाई नै फाइदा हुने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेको महाधिवेशनसँगै आफ्नो विजयी सुरुवात भएको दाबी गरे ।
“एमालले मलाई कति महत्व दिँदोरहेछ, प्रचण्डको राष्ट्रिय राजनीतिमा कति भूमिका छ भन्ने चितवनका जनताले राम्रै रूपमा बुझ्ने भए,” उनले भने ।
एमालले महाधिवेशन गरेपछि आफ्नो पार्टीको महाधिवेशन पनि चितवनमै गरिने उनले बताए । उनले आफ्ना लागि आगामी निर्वाचन अन्तिमपटक पनि हुनसक्ने बताए ।
“मेरो यो अन्तिमपटक निर्वाचन लड्ने अन्तिम हुनपनि सक्छ । तर, मैले चितवन छोड्ने भन्ने कुरा आउँदैन,” उनले भने ।
प्रधानन्यायधीशको विषयमा उनले एउटा मन्त्रीको विषयलाई लिएर विवाद चर्किएको र न्यायालयको स्वतन्त्रमा कहीकतैबाट आँच आउन नहुने बताए । उनले न्यायालयमा देखिएको विवादबारे गठबन्धन केही दिनमै निष्कर्षमा पुग्ने पनि बताए ।
“न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकले आ-आफ्नो स्वतन्त्रता कायम राख्न बल गर्नुपर्छ,” प्रचण्डले भने ।
अहिले न्यायालय विवादबारे गठबन्धमा कुनै छलफल नभएको उनको भनाइ छ । “हिजोमा त तीनवटा पार्टीसँग छलफल भएको थियाे । पाँचओटा पार्टी जुटेर यो बारेमा छलफल गर्ने भन्ने भएको छ । तर, महाअभियोगमा त चर्चै भएकै छैन । त्यो प्रसंगनै छैन,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्