विपदमा जनप्रतिनिधिको बेवास्ता ।

लगातारको वर्षाका कारण आइपरेका विपदमा परेकालाई उद्धार तथा पुनस्स्थापना गर्न जनप्रतिनिधिले बेवास्ता गरेका दैलेखका स्थानीय बासिन्दाको गुनासो छ ।
पहिरोले बन्द भएका सडक खुलाउन तथा घर भत्किएका व्यक्तिलाई सहयोग जुटाउन पहल गरे पनि जनप्रतिनिधिले वास्ता नगरेका उनीहरुले गुनासो गरेका हुन् ।
वर्षाका कारण घर भत्किएपछि जनप्रतिनिधिसँग पुनस्स्थापनाका लागि अपिल गरे पनि कुनै सहयोग नपाएको स्थानीय डिल्ली परियारले बताउनु भएको छ । आठ लाख लागतमा निर्माण भएको घर भत्किएपछि विवरण टिपाउँदा पनि दुई लाख मात्रै क्षति भएको विवरण वडा कार्यालयका सचिवले टिपेको उहाँले गुनासो गर्नुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समेत बन्द भएका सडक सञ्चालनमा ल्याउन सहयोगका लागि फोन गर्दा जनप्रतिनिधिहरुसँग सम्पर्क हुन नसकेको बताउनु भएको छ । ुकर्णाली राजमार्ग, दैलेख–सुर्खेत र मध्यपहाडी राजमार्गमा ठाउँठाउँ पहिरोले सडक बन्द भएको बेला सहयोग माग्न खोज्दा जनप्रतिनिधिहरुले मोबाइल अफ गरेर बसेका समेत पाइयोु उहाँले भन्नुभयो ।
यस्तै दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले पनि पहिरोले सडक बन्द हुँदा प्रहरीमै गुहार माग्न थालेपछि सडक विभागको डोजर ल्याएर आफूले डिजेल भरेर सडक खुलाउनु परेको बताउनु भएको छ ।
‘बाटोमा अलपत्र परेका यात्रुका मर्का सुन्नै पर्यो । पाकेटकै पैसा खर्च गरेर सडक खुलाइयो’ डीएसपी श्रेष्ठले भन्नुभयो । कर्णाली नदीमा बहाव बढेपछि आठबीस नगरपालिका–१ रामाघाट, वडा नं। २ को टुनीबगर, चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ पालतडाका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने, दैलेख–सुर्खेत राजमार्गको सियाकोट र कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो हटाउन प्रहरीले नै पहल गरिरहेको छ ।
कर्णाली राजमार्ग बन्द भएयता आठबीस नगरपालिकाका मेयर खड्गप्रसाद उपाध्यायका दुई वटै मोबाइल अफ गर्नुभएको स्थानीयले बताएका छन् । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने आफू यति बेला सुर्खेतमा भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्