विराटनगर, १४ असोज 
आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।    
    
सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।    
    
 लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६÷७७ मा कूल रु दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष रु ५२ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।    
    
 यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल रु २६ करोड ६१ लाख र भदौमा रु १२ करोड ४७ लाख राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उहाँले चालु आवमा वार्षिक रु दुई अर्ब ४२ करोड ७० लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।  रासस