बाँकेमा राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती–सोनारी गाउँपालिका १ कुसुम गाभरमा आज सोमवार बिहान बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिनका लागि प्राविधिक टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो । ‘टोलीले बाघको अवस्था र व्यवहार बुझेपछि मात्रै नियन्त्रणमा लिनुपर्ने अवस्थामा नियन्त्रणमा लिनेछ’, शाहले भन्नुभयो, ‘क्यामरा राखिसकिएको छ , उसको राजमार्ग क्षेत्रमा हुने आवागमनलाई हेरिनेछ ।’
थप घटना हुन नदिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सुरक्षा तैनाथ गरिएको र हात्तीसहितको गस्ती टोली पनि पठाइएको निकुञ्जले जनाएको छ ।
रातिको समयमा राजमार्ग क्षेत्रमा मोटरसाइकल आवागमनमा रोक लगाइएको छ । हिजो आइतवार बेलुका स्थानीय होटलमा कार्यरत सुस्त मनस्थितिका एक व्यक्ति खाना खाएर निस्केकामा आज बिहान शव भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्