पूर्व स्वास्थ्य मन्त्री तथा राप्रपाका बरिष्ठ नेता दिपक वोहराले वर्तमान सरकार दिर्घरोगीहरुको उपचारका लागि सरकारले गरेको निर्णयको स्वागत गर्दै खुशी व्यक्त गरेका छन् । वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर, मृगौला रोगी, गम्भिर मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेकोमा अत्यन्तै हर्षित भएको पूर्व मन्त्री वोहराले बताएका हुन् ।
शनिवार प्रेस नोट जारी गर्दै राप्रपा बरिष्ठ नेता तथा पूर्व स्वास्थ्य मन्त्री वोहराले २०७४ सालमा शेर बहादुर देउवा प्रधानमन्त्री रहेको सरकारको स्वास्थ्य मन्त्री आफू रहँदा तत्कालीन सालको पौष १३ गते मन्त्रीपरिषदको वैठकमा प्रस्ताव गरी क्यान्सर, मृगौला रोग र गम्भिर मेरुदण्ड पक्षघात भएका दिर्घ रोगीहरुलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने जनमुखी निर्णय गरी वितरण शुरु गरिसकेको भएता पनि २०७४ को आम निर्वाचन पछि बनेको सरकारले यो जनमुखी निर्णय खारेज गरिदिएको उनले जारी गरेको प्रेस नोटमा भनिएको छ । वर्तमान सरकारसँग दिर्घ रोगीहरुको समस्या समाधानका लागि निरन्तरको परामर्श पश्चात बर्तमान सरकारले पुनः जनमुखी निर्णय गरेकोमा हार्दिक आभार प्रकट गर्दै पूर्व स्वास्थ्य मन्त्री वोहराले दिर्घ रोगीहरुलाई प्रदान गरिने भत्ता सुर्तिजन्य वस्तु तथा उत्पादनको करबाट संचित रकमबाट वितरण गरिदा आर्थिक व्यय भार सरकारलाई नपर्ने गरी यस अघि नै व्यवस्था मिलाइसकेको रयसले पुनः निरन्तरता पाएको बताएका छन् । साथै उनले सबै दिर्घ रोगबाट ग्रसित विरामीहरुको स्वास्थ्य लाभको कामना समेत गरेको बताएका छन् ।