काठमाडौँ, २५ भदौ  
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।    
    
पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खेल्न लागेको हो ।    
    
 बुधबार नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ ।    
    
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ । यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ । रासस