काठमाडौँ, २३ भदौ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गर्नुभएको छ । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले यसबारे अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने जानकारी दिनुभएको हो ।

एमसिसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने उल्लेख गर्दै देउवाले नेपालको विकासमा एमसिसी अहिले एकाएक नआएको बताउनुभयो। ‘निश्चित कानुनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो,’ उहाँले भन्नुभयो, ‘यो एउटा लोकतान्त्रिक मुलुकसँगको सम्बन्धको कुरा हो।’

विभिन्न राजनीतिक दलको नेतृत्वमा विगतमा गठन भएका सरकारले अघि बढाउँदै एमसिसी अहिलेको अवस्थामा आइपुगेको धारणा राख्दै देउवाले यसले मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले एमसिसी अनुदान भएको पनि स्पष्ट पार्नुभयो । ‘यो विकासका लागि दिइएको अनुदान हो। यसमा धेरै राजनीति गर्न खोजियो,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने, ‘यसमा राजनीति गर्नु आवश्यक छैन। हामीले देश विकासमा अनुदान ल्याउने हो। ऋण घटाउने हो।’ नागरिक दैनिक