खलङ्गा, २१ भदौ

जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो ।    

 गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिनुभयो । “विद्यार्थीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएपछि पठनपाठन शुरु गरेका हौँ,” उहाँले भन्नुभयो । स्वास्थ्य मापदण्ड पालन गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो ।    

 जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसितको छलफल पछि विद्यालय सञ्चालनको निर्णय गरिएको धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले शिक्षा शाखालाई एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउन निर्देशन दिएको बताउनुभयो । “कोरोनाले विद्यालय बन्द हुँदा विद्यार्थी मेला, पर्व र अन्य काममा जान थालेका छन् । त्यहाँभन्दा विद्यालयमै उनीहरु सुरक्षित हुने सुझाव प्राप्त भएको छ,” उहाँले भन्नुभयो ।    

 सरकारले पछिल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर १०० जनामा परीक्षण गरेमा पाँच जनाभन्दामुनि नतिजा पोजेटिभ आएमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड बनाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक राजीव शाहले जानकारी दिनुुभयो ।    

यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले आठ विद्यालयमा कोरोना परीक्षण गरेको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनुभयो । तिला गाउँपालिकाले पनि कार्यपालिको बैठक राखेर छिट्टै विद्यालय खुलाउने तयारी गरेको सो गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।  रासस