वुटवल, भदौ १८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन्। 

यस्तै सरकार प्रवक्ता समेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ। 

यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ। 

सरकारमा सहभागी दलको गठबन्धन तोडिन नदिन भन्दै सबै दललाई भागबन्डा पुग्नेगरि लुम्बिनी प्रदेशमा यसअघिनै मन्त्रालयको संख्या १३ पुर्‍याएको छ। भदौ १३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय थप गरि १३ पुर्‍याएको हो।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बनाईएको छ।

यस्तै, पर्यटन ग्रामीण तथा सहरी विकास, भौतिक पूर्वाधार विकास, बन बातावरण तथा भू संरक्षण, शिक्षा विज्ञान युवा तथा खेलकुद, श्रम रोजगार तथा यातायात व्यवस्था र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय बनाईएको छ। 

मन्त्रालय थप गरिए पनि मन्त्रिपरिषद विस्तार भने भइसकेको छैन। 

हालसम्म मुख्यमन्त्रीसहित ७ जना मन्त्री छन्। 

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल भने ८० जनामात्रै सांसद रहेका छन्।

जनता समाजवादीका तीन र माओवादी केन्द्रका दुई जना सांसद कारवाहीमा परि पदमुक्त भएका छन् भने एमालेका दुई जना सांसदले राजीनामा दिईसकेका छन्।

जनता समाजवादीले समानुपातिकबाट निर्वाचित कल्पना पाण्डेयलाई कारवाही गरी उनको स्थानमा निर्मला मुडभरी भट्टराईलाई प्रदेशसभा सदस्य नियुक्तिको लागि सिफारिस गरे पनि उनलाई अझै सपथग्रहण भने गराईएको छैन। उनको सपथग्रहणपछि सांसद संख्या ८१ पुग्नेछ।