गोरखा, १३ भदौ

गोरखा नगरपालिकाले एक वर्षअघि १५ लाख रुपैयाँमा किनेको ड्रोन क्यामेरा प्रयोगविहीन भएर स्टोरमा थन्किएको छ ।

नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले ड्रोन खरीद गरेको थियो । २०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगर प्रमुख राजनराज पन्तले नगर क्षेत्रमा हुने कुनै पनि योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाटै हुने बताएका थिए ।

तर उक्त ड्रोनले आजसम्म न कुनै योजनाको सर्भे गरेको छ न कुनै अनुगमन नै । प्रयोगविहीन अवस्थामा स्टोरमा थन्क्याएर राखिएको ड्रोनले व्ययभार मात्र बढाएको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा पनि उल्लेख गरेको छ । स्थानीयस्तरमा पनि ड्रोन खरीदको विरोध भएको छ ।

प्रविधिको प्रयोगले प्राविधिक जनशक्ति घटाउने नगरपालिकाको दावी थियो । तर ड्रोन खरीदपछि पनि धेरै प्राविधिक जनशक्ति नियुक्त गरिएको छ । तर ड्रोन सञ्चालनको सीप भएका प्राविधिक नगरपालिकासँग छैन ।

कार्यालयका सूचना प्रविधि अधिकृत सुयोग खनाल सफ्टवेयरका कारण ड्रोन सञ्चालन गर्न नसकिएको बताउँछन् । ‘फोटो खिचेर ल्याउने, त्यसको जियो लोकेसनलाई एक ठाउँमा राखेर सर्भे मोडलिङको काम गर्ने एउटा सफ्टवेयर हुन्छ, त्यो नभएकाले काम गर्न सकिएको छैन,’ उनले भने । सफ्टवेयर खरीद गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने ड्रोनको विषयमा आफूलाई केही जानकारी नभएको बताए । ‘ड्रोन सञ्चालन गर्न के के चाहिन्छ आईटी इन्जिनियरलाई थाहा होला तर मलाई अहिलेसम्म यो चाहिन्छ भनेर केही जानकारी गराएका छैनन्,’ उनले भने ।