काठमाडौं, भदौ ११ प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले आज साँझसम्ममा केही मन्त्रीहरू नियुक्त गर्ने तयारीमा जुटेका छन् । 

बिहानैदेखि मुख्यमन्त्री आचार्य मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफलमा जुटेका छन् । तीन जनालाई आज मन्त्री नियुक्त गर्ने तयारी रहेको बुझिएको छ । 

मन्त्रिपरिषद् विस्तारबारे आन्तरिक छलफलमा रहेको र सहमति भए आजै मन्त्री मण्डल विस्तार गर्ने मुख्यमन्त्री आचार्यले बताए । 

मन्त्री बन्ने सूचीमा चार जना नेताको नाम आएको छ । एमालेका एक नेताका अनुसार सूचीमा राखिएका केही नामहरूमा सहमति जुट्न सकेको छैन । जुटेपछि सानो मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ । 

आचार्यले कतै पनि नखुलेका तटस्थ रहेका सांसदहरूलाई मन्त्री बनाउने रणनीति अगाडि सारेका छन् । उनले माधव नेपालको समाजवादीमा जान लागेका  सांसदलाई एमालेमै राखेर मन्त्री बनाउने तयारीमा रहेको एमालेका सांसदहरू बताउँछन् । 

ताप्लेजुङका बलबहादुर सामसुहाङ, इलामकी खिनु लुङ्वा लिम्बु र एमालेका प्रमुख सचेतकसमेत रहेका बुद्धिकुमार राज भण्डारीको नाम सूचीको पहिलो चरणमा राखिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । 

आचार्यले एमालेका सचिव योगेश भट्टराई र पूर्वसभामुखसमेत रहेका नेता सुवास नेम्वाङको साथ लिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । 

सामसुहाङलाई एमाले सचिव भट्टराई र खीनु लुङ्वालाई नेम्वाङले मन्त्री बनाउन चाहेका हुन् । लुङ्वा भने बिहानैदेखि फोन अफ गरेर छलफलमा व्यस्त छिन् ।  

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी सावित्राकुमारी रेग्मीलाई पनि मन्त्री बनाउने प्रस्ताव मुख्यमन्त्री आचार्यले अगाडि सारेका छन् । तर, एमालेका केही नेताहरूले भने रेग्मीको नामको विषयमा सोच्नुपर्ने अडान राखेका छन् । 

मुख्यमन्त्री आचार्यले पहिला माधव नेपाल लाइनका सांसदहरूलाई तान्ने प्रयास गरिरहेका बुझिएको छ । 

केन्द्रीय सदस्य महेशकी श्रीमतीलाई मन्त्री बनाउँदा नेकपा एकीकृत समाजवादीबीच विवाद हुने र प्रदेश सांसद एमालेमै बस्ने आकलनसहित मुख्यमन्त्री आचार्यले यस्तो निर्णय गर्न खोजेको हुन सक्ने अनुमान एमालेका नेताहरूको छ ।

‘मुख्यमन्त्रीले दिउँसो छलफलका लागि बोलाउनु भएको छ,’ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘साँझसम्ममा केही मन्त्रीज्यूहरूले शपथ लिनुहुन्छ होला ।’ तपाईंको पनि नाम चर्चामा छ नि भन्ने प्रश्नमा भण्डारीले अहिलेसम्म आफूलाई यो विषयमा थाहा नभएको बताए । 

विश्वासको मत लिएर मात्रै थप मन्त्रिमन्डल विस्तार गर्ने योजनामा आचार्य छन् । समाजवादीमा गएका सांसदहरूले प्रदेश निर्वाचन आयोगमा हस्ताक्षर गर्नुभन्दा अगाडिनै विश्वासको मत लिने र त्यसपछि मात्रै सरकार विस्तार गर्ने उनको योजना रहेको एमालेका नेताहरू बताउँछन् । 

समाजवादीमा जाने सांसदहरूले आफ्नो लाइन ‘क्लियर’ गर्नु भन्दा अगाडि नै विश्वासको मत लिएर बहुमत सिद्ध गर्ने योजनामा रहेका मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न नदिने बताउँछन् । 

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीको भागमा परेकोले पहिला आचार्यसँगै रहेका नेताहरू आचार्यलाई मुख्यमन्त्रीबाट हटाउन शपथ लिएकै दिनदेखि हात धोएर लागेका छन् । 

केही दिनभित्रमै निर्वाचन आयोगमा गएर हस्ताक्षर गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने योजनामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राई अगाडि बढेका छन् । कांग्रेस, माओवादी र जसपाका सांसदहरू पनि भीम आचार्य नेतृत्वको सरकारलाई छिटै बिदाइ गर्ने तयारीमा छन् । 

हाल एमालेका सभामुखसहित ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । 

एमालेका एक जना सांसद भने कीर्ते कागजमा अदालतले दोषी ठहर्‍याएपछि फरार छन् । 

मुख्यमन्त्री आचार्यले एमालेमा बहुमत कायम राख्ने बताएका छन् । बढीमा तीनजना मात्रै सांसद समाजवादीमा जाने एमालेको दाबी छ । 

तर, ९ जना खुलिसकेकाले केही अझै थपिने समाजवादीको भनाइ छ । मुख्यमन्त्री आचार्यले पूरै कार्यकाल सरकारको नेतृत्व गर्नका लागि एमालेसँग ४६ सांसद कायम राख्नु पर्ने हुन्छ ।