काठमाडौँ, १० भदौ। प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो ।

सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो ।

उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् । इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।

टिका सानु दाङ जिल्ला, तुलसीपुर उ.म.न.पा. वडा नम्बर चार गहतेरामा बाबा मानबहादुर र आमा महिमा बि.क. को कोख बाट जन्मिएकी हुन् । चार दिदी बहिनी मध्य उनी माइली छोरी हुन् । जेठी दिदी सोभा ( गीता ), साइली बहिनी दुर्गा र कान्छी बहिनी गुमा हुन् ।

उनले गुरुजजिर उच्च मा. वि. रक्षाचौर बाट कक्षा छ सम्म, दिपज्योति नि. मा. वि. बाट सात र आठ, जनश्रम उच्च मा. वि. बाट एस् . एल्. सी. र पुन: गुरुजजिर उच्च मा.वि. बाटै कक्षा एघार सम्मको उच्च शिक्षा हासिल गरेकी छिन् ।

पहिलो सफलता र खुशीको कहानी

त्यति बेला टीका सानु कक्षा तीनमा पढ्दै थिइन् । उनले अध्ययन गर्ने बिद्यालयमा सरसफाई सम्बन्धी गीत प्रतियोगिता थियो ।

उनलाई जीत र हार भन्दानी गीत गाउने ठूलो रहर थियो । त्यसैले जानी नजानी सरसफाई सम्वन्धी गीत लेखिन् र सहभागी भइन् । उनी सबैभन्दा कान्छी प्रतियोगी पनि थिइन् । सौभाग्यवश उनी तृतीय हुन पुगिन् । यो सफलताले उनलाई नसोचेको खुशी दियो । यो खुशीको असली हकदार उनकी आमा हुनुहुन्थ्यो । एक त छोरी छोरी जन्माएकी भनेर सबै बाट अपहेलित त्यसै माथि अभावै अभावको जिन्दगी, तैपनि छोरीहरुका खुशीका लागि उहाँले न भोक न तिर्खा केही नभनी दिनरात मेहेनत गर्नु हुन्थ्यो ।

आमाको पिडामा मलम लगाउने सपना अनि थोरै भएनी आमालाई खुशी देख्ने चाहना टीका सानुको मनमा सानै देखि थियो किन कि आमाका पीडा र संघर्ष उनका आँखै अगाडि थिए । उनी आफ्नी आमाका आँखाका आँशु र दुखेको मनको प्रत्यक्षदर्शी थिइन् । छोरीले पनि आमाको आँशु पुछ्न सक्छन् भन्ने उनलाई लाग्थ्यो । उनको त्यो दिनको सानो सफलता सायद उनको लक्ष्यको एक आँकुरा पो थियो कि ।

उनी आफ्नो जिन्दगीको पहिलो पुरस्कार लिएर खुशी हुदै हतार हतार घर आइपुगिन् । आमा बारीमा लसुन गोड्दै हुनुहुन्थ्यो । आमाले पसिना पुछ्दै छोरीलाई नियाल्नु भयो । छोरीको मुहारको खुशी देखेर मुस्कुराउनु भयो । निधारमा अबिर अनि हातमा पुरस्कार लिएर उभिएकी आफ्नी सानी, लुरी, फुच्ची र प्यारी छोरीलाई देखेर आमा गौरवान्वित हुनुभयो ।

आकाशको जून झारिदिने प्रेमपत्र त्यतिबेला टीका सानु कक्षा सातमा पढ्दै थिइन् । उनी सङ्गै पढ्ने साथीले उनको धेरै तारिफ गर्दै गजल समेत समाबेश गरी यौटा प्रेम पत्र पठाएका थिए । त्यति सानै उमेरमा पनि उसको आँट र हिम्मत देखेर टीका सानु केही बेर त अचम्ममा परिन अनि यो समय र हाम्रो उमेर प्रेम भन्दानी पढाई तिर ध्यान दिने बेला हो भनेर जवाफ लेखेर पठाइदिइन् । किन कि उनी अरु केटी जस्तै पत्र च्यातिदिने, गाली गर्ने अनि झापड हान्ने खाले थिइनन् ।

पत्थरको जवाफ फूलले दिनु पर्छ भने झै उनी हरेक नकारात्मक कुरालाई पनि सकारात्मक तरिकाले जवाफ दिने गर्थिन् । त्यसो त उनी अरुको मन दुखाउन अनि अरुको भावनामा ठेस पुग्ने काम गर्न कहिले चाहदिनन् । उनको लागि लेखिएको प्रेमिल गजल यस्तो थियो :

तिम्रो लागि आकाशको जून टिपिदिन्छु !

सागरको मोति अनि सुन टिपिदिन्छु !!