काठमाडौँ, ९ भदौ। दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ ।

बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन्। दसबुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय सदस्य खोसिएको हो।

बैठकको निर्णयअनुसार एमालेका २०७५ जेठ २ अघिका सबै संरचना पुनर्जीवित भएका छन्। जिल्ला र प्रदेश कमिटीहरू पनि २०७५ जेठ २ कै अवस्थामा फर्किएका छन्। निर्णयअनुसार प्रदेश १ को इन्चार्ज भीम आचार्य, प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, लुम्बिनी प्रदेश इन्चार्ज विष्णु पौडेल, कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल कायम भएका छन्।