काठमाडौं । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले महासंघको विधान, नीति, निर्देशन, आचारसंहिता तथा पत्रकार अनुशासन विपरित गएको भन्दै लुम्बिनी प्रदेश कार्यसमिति सचिव जयसिंह के.सीलाई स्पष्टीकरण माग गरेको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सचिव जस्तो गरिमामय पदको दुरुपयोग गरेको ठान्दछौं भनी प्रदेश अध्यक्ष बसन्त गिरी हस्ताक्षरित स्पष्टीकरणमा जनाएको छ ।

नेपाल पत्रकार महासंघको विधान २०६० को पाँचौ संसोधन २०७५ को परिच्छेद ८ अनुसार अनुसानको कार्वाहीका लागि सचिव जय सिंह केसी सँग स्पष्टीकरण माग गरिएको छ । साथै स्पष्टीकरण नबुझाए सम्म नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सचिवको हैसियतले कुनै पनि गतिविधि वा क्रियाकलाप तथा पत्रकार महासंघ सम्बद्ध कार्यक्रमहरुमा सहभागी वा उपस्थिति नगर्न/नगराउन समेत बताइएको छ ।

सचिव के.सीले सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा र संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझाइएको प्रति स्पष्टीकरण माग गरिएको छ साथै ध्यानाकर्षण तथा जानकारी पत्रहरुमा पेश गरिएका विवरण, मागहरु निजी वा व्यक्तिगत भएको पनि उल्लेख छ ।