बाँकेमा २३ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

बाँकेमा २३ जना कोरोना संक्रमित थपिएका छन् । शोमवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगलाशामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लामा रहेका ३ वटा प्रयोगशालामध्ये भेरीको प्रयोगशालामा ११८ नमुना परीक्षण गर्दा १९ र मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । शोमवार संक्रमण पुष्टि भएका मध्ये ६ जना बाँके निवासी हुन् ।
योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय २५ पुगेको छ । आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ९३ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका एक युवाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका- १८ कारकाँदोका ३१ वर्षीय युवाको भाइरस संक्रमणबाट मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि यही २१ गते नेपालगन्ज मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको भोलिपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।
जिल्लामा १२ संक्रमित गम्भीर छन् भने १८ जना मध्यम खाले बिरामी हुन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ । जिल्लामा सक्रिय संक्रमित १२९ जना रहेको फोकलपर्सन वलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्