दार्चुला, २३ साउन 
घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् ।    
    
शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट रु ४१ हजार आर्थिक सहयोग जुटेको छ । बेपत्ता जयसिंहका भाई नरेन्द्रसिंहका अनुसार छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर रु १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।    
    
यस्तै व्यास गाउँपालिकाले रु २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले रु पाँच हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले रु एक हजार आर्थिक सहयोग गर्नुभएको छ ।    
    
बेपत्ता जयसिंहका एक छोरा, एक छोरी र श्रीमती छन् । “छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले एक महिना पनि खान पुग्दैन्”, हरकसिंहले भन्नुभयो । वैदेशिक रोजगारी खोज्न काठमाडौँ जाने क्रममा जयसिंह तुईन तर्दा बेपत्ता हुनुभएको हो । (रासस)