तीन दिनसम्म मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, भागेर उम्कन सफल भएँ स् विमला वली ।

लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको र बल्लतल्ल उम्कन सफल भएको बताउनुभएको छ ।
आफू नेकपा माओवादी केन्द्रमा लागेदेखि नै एमाले र मुख्यमन्त्रीले दबाब दिइरहेकोमा अहिले बन्धक बनाउने र एमालेमै बसेर मन्त्री पद खानसमेत प्रलोभन देखाएको बताउनुभएको छ । पत्रकार सम्मलेनमार्फत वलीले आफू साउन १५ गते उपचारका लागि नेपालगञ्ज हिँडेकोमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानवबहादुर रावतले जबरजस्ती मुख्यमन्त्रीको निवास बुटवल ल्याएको बताउनुभएको छ ।
बुटवल ल्याएपछि आफूलाई १६, १७ र १८ गते त्यहीँ बन्धक बनाइएको र २० गते सबै जना आराम गरिरहेको मौका छोपेर शौचालय जाने चप्पल लगाएरै भाग्न सफल भएको वलीले बताउनुभएको छ ।
मुख्यमन्त्रीको कार्यालयमा एमालेमै रहेको वक्तव्य छपाएर आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको र वक्तव्यको ब्यहोरासमेत नदिइएको विमला वलीको दाबी छ ।
दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट उपचुनावमा निर्वाचित हुनुभएकी वली नेकपा विभाजन भएपछि माओवादीमा लाग्नुभएको थियो, पछि उहाँ एमालेमै रहेको वक्तव्य सार्वजनिक भएको थियो । तर आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर जबरजस्ती वक्तव्यमा हस्ताक्षर गर्न लगाएको भन्दै आफू माओवादी केन्द्रमै रहको प्रष्ट पार्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्