मानव वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले दाङमा १९ किलोमिटर क्षेत्रमा बाँस रोपियो ।

वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न दाङमा झण्डै १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको छ ।
बस्ती नजिकको वन क्षेत्र वर्षेनि अतिक्रमण हुने, वन्यजन्तु मानव बस्तीमा आएर जनधनको क्षति पुर्याउने र बस्तीमा स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसको न्यूनीकरणका लागि दाङका १२ वटा सामुदायिक वन क्षेत्रको झण्डै १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत दाङको उच्च जोखिम क्षेत्रमा पर्ने घोराही उपमहानगरका ६ वटा, बबई गाउँपालिका(३ वटा, तुल्सीपुर उपमहानगरका २ र दङ्गिशरणका गाउँपालिकाको एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
बाँस चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्ने, बाँस बहुउपयोगी भएकाले किसानले त्यसमार्फत आयआर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले वर्षेनि आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य कम पनि कम गर्ने हुँदा प्रभावकारी हुने उहाँको भनाइ छ ।
एक किलोमिटरमा झण्डै ५ सय बोट रोपिएको छ । तारबाँससहित यो वर्ष ९ हजार बाँस रोपिएको छ। बाँस रोप्नका लागि खरिद, सङ्कलन र ढुवानी खर्च वापत प्रति बाँसको गानाबापत २ सय रुपैयाँ कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्