सिमकोट, ४ साउन
स्वास्थ्यका लागि सक्षम प्रणालीले जिल्ला अस्पताल हुम्लालाई रु ६४ लाख ३५ हजार १७९ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रमले जिल्ला अस्पतालमा उपकरण अभावमा बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै उक्त डिजिटल एक्सरे मेशिन, नोजल क्यानला, विपप मेशिन, आइपिसी मेशिन र एबिजी मेशिन हस्तान्तरण गरेको हो ।    

 जनस्वास्थ्य कार्यालय हुम्लाको अनुरोधमा कार्यक्रमले आफैँ उक्त स्वास्थ्य उपकरण खरिद गरेर हस्तान्तरण गरेको कार्यक्रमका प्राविधिक अधिकृत कालीदास जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार कार्यक्रमले रु ३५ लाख ५९ हजार ५०० मूल्यको डिजिटल एक्सरे मेशिन जडान गरेर आइतबार हस्तान्तरण गरेको हो । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रमले रु ११ लाख ७८ हजार ३६४ मूल्यका नोजल क्यानला, रु एक लाख ५४ हजार ३१५ को विपप मेशिन, रु तीन लाख मूल्यको आइपिसी मेशिन र रु १२ लाख ४३ हजार मूल्यको एबिजी मेशिन हस्तान्तरण गरेको छ ।    

 जिल्ला अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कार्यक्रमका तर्फबाट सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त सामग्री जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहलाई हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा अध्यक्ष लामाले हुम्ला स्रोतको धनी भए पनि भौगोलिक र उपकरणको समस्याले उपचारमा थप जटिलता उत्पन्न भएको उल्लेख गर्दै यो स्वास्थ्य उपकरणले जिल्लावासीलाई ठूलो राहत हुने उल्लेख गर्नुभयो ।   रासस