अपाङ्गता तथा असायहरुका लागी सारथी बन्दै ८ नम्बर वडा

कोहलपुर नगरपालिका वडा नं. ८ को कार्यालय अपाङ्गता तथा असाय भएकाहरुका लागि प्रभावकारी भूमिका खेल्न थालेको छ । वडा भित्र रहेका अपाङ्गता , तथा असाय परिवारका लागि वडा कार्यालयले हरेक वर्ष विभिन्न सहयोग तथा उत्थानका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ८ कि उमा यादव अहिले १४ वर्षकी भईन् । उनी आफ्नो बाल्यकालको जीवन सम्झेर बेस्सरी भाक्कानिन्छिन् । करिब ५/६ वर्षको बाल्यकालमा आफ्नै खुट्टाले हिडडुल गरेका यादहरु उनको आँखामा झलझलि आउँछन् । दुईटा खुट्टाले टेकेर आफ्नो घरको आगनमा छमछम खेल्दै हरेका हरेक स्मृतिहरु उनको मानसपटलमा छोड्नै सक्दैनन् । आफ्नै खुट्टाले हिडेर आमासँगै टाढासम्म पनि पुग्न सक्ने यादव अहिले ह्वीलचिअरको साहरा बिना एक पाईला हिड्न सक्दैनन् । कक्षा ५ मा पढ्दै गरेकी उमालाई अरु हिडेको देख्दा आफू हिड्न पाए भन्ने रहरले पिरोलिरहन्छ । आफु कुनै बेला अन्य व्यक्ति सरह हिड्ने गरेको ‘राती’ देखेको सपना जस्तै भएको छ । हिड्दा हिड्दै यादवका दुवै खुट्टा कमजोर बन्दै गए । उनका पैतालाहरु बाङ्गा हुन थाले । अन्ततः खुट्टा नै चल्नै छोडे । उनी पूर्ण रुपमा हिड्न नसक्ने भईन् । उनको जीवनको मार्ग अगाडी नमीठो यथार्थको पहाड उभियो । उनकी आमाले डोराउँदै ह्वील चिअरमा वडा नम्बर ८ को वडा कार्यालयसम्म पुगेकी उमा यादवको अनुहारभरी धेरै रहर देखिन्थे । आँखाभरी सपनाहरु प्रष्ट रुपमा छचल्किरहेका थिए । ह्वीलचिअरमा बसिरहदा फूल्दै फक्रिदैं गरेको जीवनमा एक्कासी हुण्डरी लागेको आभाष हुन्छ उमालाई । जब वडा कार्यालयले उनको हातमा एक झोला भरि उनलाई आवश्यक पर्ने सामानहरु दिएपछि अध्याँरो रहेको उमाको अनुहारमा केही उज्यालो मुस्कान छायो ।
गोरो वर्ण, निर्दोष मुहार, सुन्दर मुस्कान, करिब १४ वर्षकै उमेरका समीर खड्काले ८ नम्बर वडाका वडा अध्यक्ष रेशम बहादुर खत्रीले प्रदान गरेको झोला समाते । मुहारभरी मुस्कान फैलाउँदै झोला काँधमा भिरे । आफूलाई चाहिने आवश्यक सामाग्री पाएकोमा उनी निकै खुशी देखिन्थे । त्यो खुशी आफ्नी आमासँग साटिरहेका थिए समीर । उनी निकै ट्यालेन्ट, चलाख, विबेकशिल तथा चञ्चले थिए । उनी कक्षा ५ सम्म पनि पढे । दैवको लिला हो या भाग्यले ठग्यो उनको सपाङ्ग जीवन धेरै समयसम्म टिक्न सकेन । करिब १२ वर्षको हुँदा समीर सामान्य कुराहरु पनि बिर्सन थाले । समीरलाई सामान्य कुरा सम्झनका लागि पनि समय लाग्ने जस्ता समस्या देखापर्न थाल्यो । उनको दिमाग कमजोर बन्दै गयो ।
दिमागको क्षमता अर्थात् सोच्ने शक्तिमा बिस्तारै कमी आउन थाल्यो । अन्ततः उनले सबै कुरा बिर्सिए । त्यसबेलादेखि नै उनको बोली पनि हरायो । टाउकोमा पानी जमेर यस्तो समस्या आएको डाक्टरले बताएपछि उनी आजसम्म न बोल्न सकेका छन् न पहिला जस्तो तन्द्रुस्त छन् । सबै कुरा बिर्सिएर पनि समीरले हाँस्न भने बिर्सेका छैनन् । उनी बेलाबेलामा दिल खोलेर मुसुक्क मुस्काईरहन्छन् । उमा र समीर मात्र नभई वडा कार्यालयमा अन्य बालबालिकाहरु पनि उपस्थित थिए । वडा कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा अपांगता भएका बालबालिकाहरुका लागि ५० हजार रकम विनियोजन गरेको थियो । उक्त रकमबाट वडामा रहेका ८ जना अपांग बालबालिकाहरुलाई झोला, छाता, तन्ना, मास्क, सेनिटाईजर, साबुन, ब्रस, मञ्जन लगायतका सामाग्री हस्तान्तरण गरेको छ । वडाले नवीन देवकोटा, स्वस्तिका कामी, रुपासिंह राठौर, लीला पौडेल, रविन्द्र रावल, विबेक लुहारलाई सामाग्री हस्तान्तरण गरेको हो । सामाग्री वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष रशेम बहादुर खत्रीले अपाङ्गता भएका बालबालिकाहरुका लागि वडा नम्बर ८ ले राम्रो काम गरिरहेको बताएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम बहादुर खत्रीले वडामा संचालित सरस्वती सामुदायिक विद्यालयमा वडाबाट विनियोजित बजेटले सौचालय अपाङ्ग मैत्री सौचालय निर्माण गरेको पनि जानकारी दिए । उनका अनुसार अपाङ्गता भएका बिद्यार्थीहरुको सजिलोका लागि करिब ७ लाख लगानीमा शौचालन निर्माण गरिएको हो । वडाको तथ्याङ्क अनुसार वडामा पूर्ण अपाङ्ग ४ जना, अति अशक्त अपाङ्ग १९, २० वर्ष मुनिका ८ जना बालबालिका अपाङ्ग रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्