खैरो हिरोइनसहित दुईजना पक्राउ

दाङमा ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका-३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए। बाँकेबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइन बिक्री वितरणका लागि दाङतर्फ ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले लमही नगरपालिका ९ तल्लो अमिलिया चोकबाट बिहीबार दिउँसो करिब साढे ४ बजेतिर उनीहरूलाई १ सय १० ग्राम लागुऔषध हिरोइनसहित पक्राउ गरेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्य योगी २०७१ कार्तिक २३ मा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट २० ग्राम ६ सय २० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ परी ६ वर्ष कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्