काठमाडौं, असार ३०

सरकारी निवास बालुवाटार छाडेर आज निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन्।ओलीलाई बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याएका छन्।

बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गरेका थिए।उनीहरूले ‘माकुनेलाई फाँसी दे,  प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए। अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए।

पानीमा भिज्दै एमाले कार्यकर्ताले अध्यक्ष ओलीलाई बालकोटमा स्वागत गरेका छन्।एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।  

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए।सेतोपाटी