बाँके/ कोहलपुर नगरपालिका वडा नं. ५ कि विष्णु चौधरी पुष्पखेतीमा व्यस्त छिन् । नेपाली विषयमा बागेश्वरी बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेकी चौधरी अहिले भने जागिरको लागि भौतारिनुपर्ने अवस्था छैन । बि.एड अध्ययन गरेर पुष्पखेतीमा लागेकी चौधरीको दैनिकी नर्सरीको हेरचाहमै हरेक दिन बित्छ । बिहानदेखी साँझ सम्म उनको कर्म पुष्पखेतीमा लगातार बित्ने गर्दछ ।
विष्णु विगत ४ वर्षदेखि पुष्पखेतीमा व्यस्त छिन् । उनी बाँके जिल्लाको एक मात्र महिला पुष्प व्यवसायी हुन्, । बर्दिया स्थायी घर भएता पनि उनको परिवार विगत १५ वर्षदेखि कोहलपुर नगरपालिका वडा नं. ५ मा बस्दै आएको हो । उनले भनिन्, ‘सोचेजस्तो जागिर कतै पाइएन । अहिले यसमै व्यस्त छु ।’ अहिले जागीर नपाएकोमा गुनासो छैन मलाई बरु पुष्पखेतीलाई निरन्तरता दिन लागिपरेकी छु, बेरोजगारी टार्न पुष्पखेती सुरु गरेकी विष्णुले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको रुपमा समेत चिनाएकी छिन् ।
सुविदिप पुष्प उद्यान केन्द्र नामबाट आधिकारिक रुपमा व्यवसाय दर्ता गरी चौधरीले संचालन गरेकी हुन । चौधरीले कोहलपुर–५ मा आठ कट्ठा जमिनमा पुष्पखेती गरेकी हुन । व्यवसाय शुरुवातको चरणमा मौसमी, बहुवर्षे र अंलकारिक जातका फूलको जग्गा भाडामा लिएर २ लाख पचास हजार लगानीमा उनले पुष्प व्यवसायी शुरुवात गरेकी हुन ।
२०७४ सालमा उनी सहित स–परिवार टिकापुर घुम्न गएकी थिइन्। त्यहाँ सयौं क्षेत्रफलमा पुष्पखेती गरिरहेको देखिन् । त्यहाँ पनि उक्त पुष्पखेती गरेका थारु समुदायकै व्यक्ति थिए, सिताराम चौधरी । उनकै प्रेरणाले सुरु भएको हो थियो, विष्णुको पुष्पखेती व्यवसाय ।

उनी भन्छिन्, ‘पुष्पखेतीमा रहरले लागेकी हुँ, कोहलपुर क्षेत्रमा पुष्पव्यवसायीहरु निकै कम भएकाले र सम्भावना भएकाले आफु लागेको बताइन् । सबैको प्रतिक्रिया राम्रो छ । आफुले संचालन गरेको पुष्पव्यवसायका लागि कोहलपुर नगरपालिकाले समेत सहयोग गरेको छ । पहिलो वर्षको उत्पादन बजारमा राम्रो बिक्यो । यसले झन् उत्साह थपिएको थियो ।’ शुरुवातको पहिलो वर्षमा नै फूलहरु उत्साहजनक रुपमा बिकेको उनले बताइन् । चूलोचौकोमा मात्रै सीमित रहने थारु महिला पछिल्लो समय उद्यमी बन्ने क्रम बढ्दो छ । कुनै बेला अर्काको घरमा कमलरीको रुपमा काम गर्ने यहाँका थारु महिला उद्यम गरेर आत्मनिर्भर बन्न थालेका छन् तथ्यांक अनुसार नेपालमा जनजाती समुदायले बढी पुष्पखेती गर्दछन् । थारु समुदायमा १.८ प्रतिशतले पुष्पखेती गर्दछन्। बाँकेमा जम्मा चार वटा मात्रै व्यवसायिक पुष्पखेती छन्। विष्णु चौधरी एकमात्र महिला पुष्पखेती व्यवसायी हुन् । सुरुसुरुमा उनलाई खास्सै भरोसा थिएन । उत्साह र डर यस्तै थियो। भन्छिन्, ‘नेपालीकि विद्यार्थी भएकीले जागिर खाने सोच थियो। व्यवसाय गर्छु, आम्दानी गर्छु भनेर म लागेकी होइन्, पहिला रहरले लागेकी हुँ । नशा जस्तो पो भइदियो ।’ अहिले पनि पुष्पखेती बारेमा धेरै जानकारी छैन । पढेर भन्दा पनि ‘परेर’ पो सिकिदो रैछ । यस्तै भएको छ उनका लागि पनि । विभिन्न माध्यमबाट अहिले पनि सिकिरहेकी छिन् ।
अब भने १५ कठ्ठामा व्यवसाय बढाउने योजना छ । नर्सरीमा काम गर्नको लागि एकजना युवतीलाई रोजगारी समेत दिएकी छिन् । विष्णु भने अन्य व्यवस्थापनका काममा व्यवस्त हुन्छिन् । पहिलाको भन्दा काम थपिने भएकोले अझै चार जना कामदार थप्ने तयारीमा समेत छिन् । काममा लगनशील, इमान्दार भएर काम गर्ने भएकोले महिलालाई अवसर दिने सोचमा रहेको उनले बताइन् । ‘महिलाहरु अहिले पनि आर्थिक रुपमा पछि छन् । पुरुषको कमाईको भर पर्नु पर्ने बाध्यता छ । थारु समुदायमा समेत महिलाहरुको अवस्था निकै दयनीय छ,’ उनी भन्छिन्, ‘दुई चार पैसा भए पनि कमाउँछन् । खर्च गर्न त पुग्छ । सामान्य कुरामा पनि महिला पुरुष–श्रीमानको भर नपरुन् भन्ने उद्देश्य हो मेरो ।’ थारु समुदायमा अहिले पनि छोरी प्राथमिकतामा छैनन् । शिक्षा आर्जनको मामिलामा । यसमा अभिभावकले समेत चासो दिँदैनन्। अहिले भने केही अवस्था सुध्रिएको छ तर स्कूल गइहाले पनि बीच मै पढाई छोड्ने समस्या छ । थारु समुदायमा बीचैमा विद्यालय छोड्ने दर उच्च छ ।

अर्काको घरमा काम गर्ने र ज्याला मजदुरी गरेर घरको आवश्यकता पूर्ति गर्नु पर्ने अवस्था छ । भलै विष्णुको भने घरको पारिवारिक पृष्ठभूमि नै शिक्षित भएकोले यस्तो समस्या भोग्नु परेन। अबको उनको पहिलो योजना पुष्पखेती खेतीका बारेमा थप कुरा सिक्ने नै रहर रहेको छ । विष्णुलाई लुम्बिनी प्रदेश सरकारले हरित स्वयमसेवकको रुपमा समेत छनोट गरेको छ । हाल उनलाई नमूना फर्म बनाउनका लागी ५० हजार सहयोग समेत भएको छ । स्थानिय सरकार र प्रदेश सरकारले आफुलाई सहयोग गरेको खण्डमा बाँके जिल्लाकै एक उत्कृष्ट नमूना पुष्पखेती बनाउने चौधरीको सोच रहेको छ । कोरोना भाइरसका कारण लामो समयसम्म बन्दाबन्दीका कारण पुष्पखेती बिक्री वितरणमा समस्या भएपनी आफुले हार नखाएको उनी बताउँछिन् । विष्णुले उत्पादन गरेका पुष्पहरु ३ सय देखी ५ सय सम्म प्रति किलो बिक्री गर्दै आएकी छिन् । विष्णुले सबै खर्च कटाएर बार्षिक ३ लाख भन्दा बढि आम्दानी गर्न सफल भएकी छिन् ।