रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ मा एकल पुरुषलाई भत्ता ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।
गाउँपालिकाको ४ नम्बर वडाले आउँदो आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर कटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाभित्र रहेका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिइने वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो । एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेकाले यस्तो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
यस्तै वडाले वडाभित्र रहेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत अघि सारेको छ । एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि एक लाख ३० हजार रुपैयाँ र निःशुल्क स्वास्थ्य बीमाका लागि सात लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको वडाले जनाएको छ ।
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत त्यस वडामा १५ जनाले यो सेवा पाउने भएका छन् भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दुई सय सात जनाले सेवा पाउने वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्