हचुवामा निषेधाज्ञा खुकुलो, कोरोनाको तेस्रो लहरको हतारो

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो लहर सुरु भएपछि वैशाख १६ गते निषेधाज्ञा जारी गरेको खुकुलो बनाइएको छ। तर, विशेषज्ञ भने हचुवाकै भरमा सरकारले निषेधाज्ञा जारी गर्ने र खोल्ने गरेको बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी सरकारले अध्ययन नै नगरी हचुवाको भरमा निषेधाज्ञा गर्ने र खोल्ने गरेको बताउँछन्। डा. मरासिनीले भने,‘जनतालाई यो रोग छँदैछ। मलाई कुनै पनि बेला लाग्छ है, म सतर्क नै हुनुपर्छ भन्ने आभास दिएर खुकुलो गर्नुपर्छ।’
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन के कारणले सङ्क्रमण कम भयो भनेर पत्ता लगाएपछि मात्रै निषेधाज्ञा खुकुलो बनाउने वा नबनाउने? भन्ने निर्णय लिनु उचित हुने सुझाउँछन्। डा. पुनले भने,‘के कारणले सङ्क्रमण घटेको हो भन्ने विषयको अध्ययन गरेपछि निर्णय लिनु उचित हुन्छ।’
महामारीको अवस्थामा वैज्ञानिक अध्ययन गरेर निर्णय लिनुपर्ने भए पनि स्वास्थ्य मन्त्रालय सुतेको डा. मरासिनीको आरोप छ। ‘यसको लागि वैज्ञानिक अध्ययन हुनुपर्ने थियो। स्वास्थ्य मन्त्रालय सुतेको छ। उसले कामै गरेको छैन,’डा. मरासिनीले भने,‘ यसरी रोग नियन्त्रण हुँदैन। रोग नियन्त्रण हुनलाई त समुदायमा नै, गाउँघरमा नै पस्नुपर्छ। सक्रिय निगरानीमा जानुपर्छ स्वास्थ्य मन्त्रालय।’
पाटन अस्पतालका निर्देशक डा. रवी शाक्य पनि निषेधाज्ञा खुकुलो गर्दा निक्कै सावधानी अपनाउनुपर्ने सुझाउँछन्। उपत्यका भित्र आन्तरिक रूपमा निषेधाज्ञा खुकुलो बनाउन सकिने भए पनि स्वास्थ्य मापदण्ड राम्रोसँग पालना हुनुपर्ने उनको भनाई छ।
उपत्यका बाहिर ओहोरदोहोरका लागि तत्काल खोल्नु उचित नहुने उनको सुझाव छ। उपत्यका बाहिर राम्रोसँग कोरोना परीक्षण नभएकाले उपत्यका ओहोर दोहोर गर्ने सवालमा निषेधाज्ञा खुकुलो गरिहाल्न हतार हुने चिकित्सकको मत छ।
कोभिड–१९युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम पनि एकैचोटी ह्वात्तै निषेधाज्ञा खुकुलो बनाउन नहुने तर्क गर्छन्। डा. गौतमले भने,‘सबै एकैचोटी खुकुलो बनाउन हुँदैन। भिडभाड हुने ठाउँहरू अहिले खोल्नु हुँदैन। जनस्वास्थ्यका मापदण्ड कडा गराउनुपर्छ।’
डा. गौतम पनि एकैचोटी ह्वात्त निषेधाज्ञा खोल्दा जोखिम बढ्ने बताउँछन्। उनी भन्छन्,‘जहाँ धेरै छ त्यहाँबाट थोरै भएको ठाउँमा सर्दै जान्छ।’
सङ्क्रमण फैलिए के गर्ने?
डा. पुनले सङ्क्रमण कम हुने प्रमुख दुई कारण औँल्याएका छन्। उनले निषेधाज्ञाको प्रभावका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सङ्क्रमण नसार्नु वा अधिकांश व्यक्ति सङ्क्रमित भएकाले सङ्क्रमण कम भएको हुनसक्ने बताए। उनले भने,‘एउटा निषेधाज्ञाले गर्दा चेन ब्रेक भएको हो वा धेरै भन्दा धेरै सङ्क्रमित भएकाले सङ्क्रमण दर कम भएको हो।’
डा. पुनले यदि निषेधाज्ञाका कारण सङ्क्रमण दर कम भएको हो भने निषेधाज्ञा खुकुलो गर्नु जोखिम हुने औँल्याएका छन्। तर, धेरै व्यक्ति सङ्क्रमित भइसकेकाले सङ्क्रमण दर कम भएको हो भने निषेधाज्ञा खुकुलो बनाउँदै जान सकिने उनको सुझाव छ।
डा. पुन विशेष गरी निषेधाज्ञाको प्रभावका कारण सङ्क्रमण दर कम भएको भए निषेधाज्ञा खुकुलो बनाउँदा सङ्क्रमित नभएका व्यक्तिमा संक्रमणदर बढ्ने जोखिम हुने बताउँछन्। डा. पुनले भने,‘धेरै सङ्क्रमित भएर संक्रमणदर कम भएको हो भने निषेधाज्ञा बिस्तारै खोल्दा त्यति समस्या हुँदैन जबसम्म अर्को भेरियन्ट÷लहर देखिँदैन।’
डा. गौतम भने निषेधाज्ञाको कारणले सङ्क्रमण दर कम भएको बताउँछन्। धेरै व्यक्ति सङ्क्रमण भएर सङ्क्रमण दर कम भएको भन्ने तहसम्म नपुगेको डा. गौतमले बताए।
निषेधाज्ञाका कारण सङ्क्रमण दर घटेको हो भने त निषेधाज्ञा खुकुलो बनाउँदा फेरी सङ्क्रमण बढ्ने जोखिम भयो नि हैन? भन्ने जिज्ञासामा उनको जवाफ छ,‘बढ्छ। त्यो त कन्ट्रोल गर्नुपर्छ नि। फेरी बढ्न थाल्यो भने निषेधाज्ञा लगाउनु पर्छ।’
एन्टिबडी परीक्षण
व्यक्ति कति सङ्क्रमित भए भन्ने थाहा पाउनका लागि एन्टिबडी परीक्षण (सेरो प्रिभ्यालेन्स) गर्नुपर्ने हुन्छ। जसको रिपोर्टको आधारमा निषेधाज्ञाको मोडालिटि कस्तो बनाउने भन्ने निर्णय लिन सकिने चिकित्सक बताउँछन्। स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन गरिसकेको छैन।
नेपालमा १३ हजारमा सेरो प्रिभ्यालेन्स गर्ने काम अघि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सेरो प्रिभ्यालेन्सको काम भइरहेको बताए। उनले भने,‘सेरो प्रिभ्यालेन्स हुँदैछ। टोली गाउँमा नै (स्याम्पल) कलेक्सनका लागि पुग्दैछ।’ सेरो प्रिभ्यालेन्सको नतिजा पनि चाँडै आउने प्रवक्ता डा. पौडेलले जानकारी दिए।
पछिल्लो समयमा सङ्ख्यात्मक रूपमा दैनिक मृत्यु कम देखिए पनि मृत्युदर भने बढेको देखिन्छ। परीक्षण नै कम भएको र स्वास्थ्य जटिलता निम्तिएर अस्पताल पुग्दा दैनिक मृत्यु दर बढी देखिएको चिकित्सक बताउँछन्।
साभार : उकेरा
प्रतिक्रिया दिनुहोस्