काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । आइतबार ललितपुरको बागडोलस्थित निवासमा उनको निधन भएको हो ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए । सुगर, प्रेसर रोगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा देखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए ।


उनकी एक छोरी र श्रीमती छन । उनको आजै पशुपति आर्यघाटको विधुतीय शव दाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।