स्याङ्जा । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका बिरामीलाई आयुर्वेदिक औषधी दिन थालिएको छ ।

कोरोना भाइरसले महामारीको रुप लिएको बेला बिरामीहरुको प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो ।

जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताइन् । उनले भनिन – ‘स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ ।’ गुर्जो, असोगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएको जिल्ला आयुर्वेदिक अस्पतालले जनाएको छ ।

भिडियो कन्फरेन्सका माध्यमबाट बिरामीलाई योग र ध्यानका विभिन्न विधिहरु सिकाइरहेको डा. कार्कीले बताए । भारतबाट आएर क्वारेन्टाइनमा बसेका चार पुरुष र एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।