नेकपा बैठकमा एमसीसीलाई लिएर चर्काचर्की

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त विषयलाई लिएर नेताहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई र्याखर्याख्ती पारेको स्रोतले बताएको छ । एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन विपरीत बजेटमा जबर्जस्त एमसीसी घुसाइएको भन्दै नेकपा स्थायी कमिटि सदस्य भीम रावल लगायतका नेताहरुले विरोध गरेका थिए । बजेटमा एमसीसी समावेश गरेकाले अर्थमन्त्री डा युवराज खतिवडा पनि सहभागी थिए ।
‘पार्टीले अनुमोदन नगरीकनै बजेटमा एमसीसी किन उल्लेख गरियो भनेर हामीले प्रश्न गर्यौँ’, बैठकमा सहभागी नेता रावलले भने, ‘नीति तथा कार्यक्रममा पनि समेटिएकाले बजेटमा पारिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले त्यसलाई छलफलबाटै अघि बढाउने भन्नुभयो ।’ उनका अनुसार बैठकमा सहभागी सबै सदस्यले प्रधानमन्त्री एमसीसी अनुमोदन गराउने ढिपीमा अघि बढेकोले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री ओली बजेटमा एमसीसी समावेश गर्दैमा पारित नै भइहालेजस्तो नगर्न भन्दै जंगिएका थिए । ‘तपाईंहरू पनि अचम्मकै हुनुहुन्छ । नीति तथा कार्यक्रममा समेटिएकाले बजेटमा समेटेका हौँ । पारित गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरौंला नि । अहिले नै पारित भइहालेको कहाँ हो र रु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने । अर्थमन्त्री युवराज खतिवडाले पनि एमसीसी बजेटमा मात्रै समेटिएको र यसको अरु काम अघि नबढेको बताएका छन ।
‘त्यसपछि हामीले तत्काल स्थायी कमिटी बैठक बसेर एमसीसीबाट पार्टीको आधिकारिक धारणा बनाउनुपर्छ भन्यौँ । कार्यदलले प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन अगाडि राखेर छलफल गरौं, बैठकले जस्तो निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्नुपर्छ भन्ने कुरा हामीले राख्यौँ’, स्थायी कमिटी सदस्य रावलले भने ।
उनका अनुसार हाललाई एमसीसी का अन्य प्रक्रियाहरु स्थगित गर्ने निर्णयमा बैठक टुङिगएको छ ।
प्रतिक्रिया दिनुहोस्