विदेशमा रहेका नागरिक फर्काउने तयारीमा सरकार, १० दिनभित्र सूची तयार गरिने

काठमाडौं । सरकारले भारत सहित विभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन गृहकार्य सुरु गरेको छ ।
शुक्रबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले समस्यामा परेर तत्काल नेपाल फर्किन चाहने नेपालीको पहिचान गर्न र तिनको १० दिनभित्र सूची तयार गर्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्रालयले भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका र जरुरी कामले स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नागरिकको पहिचान गरी सूचीकरण गर्नेछ ।
सरकारले पहिलो चरणमा विदेशमा उपचार गर्न गएका, विदेशमा रोकिएर काजकिरिया गर्न नपाएका, कार्यक्षेत्रबाट निकालिएर अलपत्र हालतमा रहेका नागरिकलाई प्राथमिकतामा राखेको छ । विभिन्न देशमा रहेका त्यस्ता नागरिकको सूची तयार पार्ने जिम्मा परराष्ट्रले लिएको बताइएको छ ।
विभिन्न देशहरुबाट नेपाल आउने नेपाली नागरिकलाई सरकारले क्वारेन्टाइनमा राखिने बताएको छ । जसका लागि होटल, रेष्टुँरा र सार्वजनिक विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइने छ ।
प्रतिक्रिया दिनुहोस्