काठमाडौं। सररकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै संसदमा आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दैछ। अर्थ मन्त्रालयले बजेट तयारीका सबै काम लगभग पूरा गरेको बताएको छ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दैछन्। कोरोना संक्रमणको महामारीबाट सिर्जित समस्या समाधानको लागि ध्यान दिएर महामारी केन्द्रित बजेट बनाएको अर्थमन्त्रालयका अधिकारीहरूले बताएका छन्।

महामारीका कारण अर्थतन्त्रमा संकुचन आएपछि यस पटक अर्थ मन्त्रालयलाई बजेटको स्रोत व्यवस्थापन गर्न निकै कठिनाइ परेको छ। शुरूमा करीब १७ खर्बको बजेट बनाउने तयारी गरेको अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा चाप परेपछि १६ खर्बको हाराहारीमा बजेट टुंग्याएको अर्थ मन्त्रालय स्रोतले बतायो।
वैदेशिक ऋण र अनुदानको हिस्सा धेरै राखेर बजेट बनाउने प्रयास अर्थमन्त्री खतिवडाले गरेको भए पनि उनले सोचे अनुसार वैदेशिक ऋण र अनुदानको प्रतिवद्धता आउन नसकेपछि बजेट आकार केही घटाइएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताए। बजेटमा अर्थतन्त्र पुनरूत्थानको विशेष कार्यक्रम समावेश गरिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। महामारीको बेलाको बजेट भए पनि सरकारले बजेटमा यस वर्ष पनि केही नयाँ कार्यक्रम समेत थपेको उनीहरुको भनाई छ।

बजेटमा मुख्यगरी, आर्थिक पुनरूत्थान, स्वास्थ्य पूर्वाधारको विकास, कृषिमा लगानी बढाएर रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ। यसै वर्ष पूरा हुन सक्ने र आर्थिक परिचालनमा सघाउ पुर्‍याउने केही ठूला आयोजनाहरू बजेटमा समेटिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जनसहित निरन्तरता दिइएको छ। भूमि बैंक र रोजगार बैंकका कार्यक्रम बजेटमा समेटिएका छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिदैं प्रत्यक्ष निर्वाचित सांसदको तजबिजीमा खर्च गर्न पाउने गरी सांसदलाई पैसा बाड्ने कार्यक्रमलाई पनि नियमित गरिएको बजेट लेखनमा संलग्‍न एक अधिकारीले बताए। “बाँझो जमिनलाई उपयोगमा ल्याउने, कृषिलाई व्यावसायीकरण गरेर उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने र महामारी धान्‍न सक्नेगरीको स्वास्थ्य पूर्वाधारको विकास गर्नेगरी बजेटका कार्यक्रम तय भएका छन,” अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने।

आगामी आर्थिक वर्षमा करीब ९ खर्बको हाराहारीमा राजश्‍व संकलनको लक्ष्य राखिएको छ। राजश्‍व संकलनको लागि गैरकर राजश्‍वमा ध्यान केन्द्रित गर्ने सरकारको योजना छ। अर्थ मन्त्रालयले शीर्षकगत रूपमा बजेटको विनियोजन गरेको रातो किताब १४ जेठको विहानैबाट छाप्न थालेको थियो भने बजेटका अरू सामग्री आज दिउँसो १ बजेबाट मुद्रण विभागमा छाप्‍ने तयारी गरिएको अर्थ मन्त्रालयस्रोतले बतायो। बजेटसँगै संसदमा प्रस्तुत हुने विनियोजन विधेयक भने अर्थमन्त्रालयभित्रै छाप्‍ने गरिएको छ।