रुकुम पश्चिम घटनामा बेपत्ता लोकेन्द्र सुनारको शव फेला

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा भेरी नदीमा बेपत्ता भएका जाजरकोटका लोकेन्द्र सुनारको शव फेला परेको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले सुनारको शव फेला परेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन । उनीसँगै बेपत्ता भएका अरु २ जनाको खोजी कार्य जारी रहेको छ ।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ की मल्ल थरकी केटीलाई दुलही बनाउन जाजरकोटका नवराज विकसहित १९ जना त्यहाँ पुगेका थिए । नवराज र सुष्मा मल्लबीच विगतदेखि नै प्रेम सम्बन्ध थियो । त्यही प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने सोचेका थिए तर केटी पक्षको परिवारले केटा पक्षलाई जातको आधारमा अस्विकार गरेका थिए ।
नवराज सहित उनको समूह उक्त गाउँमा पुगेपछि त्यहाँका स्थानीयहरुले उनीहरुलाई हातहतियार, ढुङ्गा÷मुढा प्रहार गरेका थिए । जसमा परी नवराज विक, गणेश बुढा मगर, टिकाराम सुनार र लोकेन्द्र सुनारको मृत्यु भएको छ । उनीहरु भेरी नदीमा मृत अवस्थामा भेटिएका छन् । १२ जना भागेर आफ्नो ज्यान बचाउन सफल भएका थिए । उनीहरुलाई घाइते बनाइएको थियो । बेपत्ता अरु २ जनाको खोजी कार्य जारी रहेको प्रमुख घर्तीले बताएका छन ।
घटनामा संलग्न चौरजहारी नगरपालिका–८, का वडा अध्यक्ष डम्बर मल्लसहित प्रहरीले १२ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्