प्रिय भाइ गणेश,

तिम्रो बारेमा म कसरी लेखौँ । निःशब्द छु । रुकुम पश्चिम घटनामा जब तिमी मारिएको खबर सुन्नमा आयो तब म छाँगाबाट खसेझैँ भएँ । नवराज विक, टिकाराम सुनार सँगै गणेश बुढा मगरको पनि भेरी नदीमा बेवारिसे शव भेटियो भन्ने समाचार मैले नपढेको होइन । तर मलाई थाहा थिएन तिमी मेरै मामाको छोरा हौँ भन्ने कुरा । म तिम्रो तस्बिर देखेरै तिमीलाई सजिलै चिन्न सक्दैनथे किनकि आजसम्म तिम्रो र मेरो न कुनै त्यस्तो भेटघाट भएको थियो न कुनै परिचय । तिमी र म एक अर्का बिच अपरिचित नै थियौँ । तिमीसँग कुनै समय भेटघाट होला, परिचय गरौँला भन्ने आशा सँगालेको म आज यसरी गलेको छु भन्न सक्दिन । तिमीसँग परिचय गर्ने मेरो सपना यहीँ तुहिएको छ । म यो सब तिमी मेरो नातेदार भएकोमा लेख्दै छैन । तिमी लगायत नवराज विक, टिकाराम सुनारको जुन किसिमले दानवीय शैलीमा निर्मम हत्या गरियो त्यो दानवीय शैलीको भण्डाफोर गर्न र केही हदसम्म भए पनि तिमीले न्यायको अनुभूति गर्ने वातावरण तय होस भन्नका लागि म यो लेख्दैँछु ।

लाग्थ्यो हाम्रो समाज धेरै माथि उठिसकेको छ, धेरै शिक्षित भैसकेको छ । यति राम्रो समाजका बासिन्दा हुन पाएकामा मलाई खुबै गर्वको महसुस हुन्थ्यो । एक किसिमले म मेरो समाजको गुणगान गाउने पक्षमा थिए । समाजका बारेमा धेरथोर लेख्ने अनि प्रचार गर्ने पक्षमा थिएँ । तर जब मैले समाजमा यस्ता दानवीय स्वभावका मान्छेहरूको बाहुल्यता देखेँ, क्रूर शैलीमा बाँचिरहेका मान्छेहरूको क्रूर शासन देखेँ तब मलाई यो समाजप्रति औधी घृणा लाग्न थाल्यो । अब मैले यो समाजका लागि प्रचार गरिरहनु परेन, लेखिरहनु परेन, बोलिरहनु पनि परेन । समाजलाई फोहोरको गन्धे टोकरीमा मिसाएका क्रूर मान्छेहरूले एकै रातमा मेरो समाजको वास्तविकता छर्लङ्ग बनाइदिए, एकै रातमा मेरो समाजको जिउने शैली देशै भरी भाइरल बनाइदिए । जुन दानवीय शैलीमा समाजको चित्र देशै भरी तिनले प्रचार गरेँ तिनको इतिहासमा नाम लेखियो तर मानवीय शैलीमा होइन दानवीय शैलीमा । मान्यवरहरू तिम्रो इतिहासमा लेखिएको सुनौलो नाम भावी पुस्ताले रामैसँग अध्ययन गर्नेछन् । राम्रै इतिहास लेख्यौँ ।

प्रिय भाइ यति बेला तिम्रो भौतिक शरीर जिल्ला अस्पताल जाजरकोटको शैयामा थन्किएको छ । तिम्रा बाबुआमा यति बेला पीडाको राजधानीमा हुनुहुन्छ । मामा माइजूलाई सान्त्वना दिन फोन त गरेको थिएँ तर फोन हुन सकेन । तिम्रो मृत शरीरले अरू केही कुरा मागेको छैन केबल न्यायको माग गरेको छ । जीवनमा तिमीले रोजेको र खोजेको बाटो यो थिएन । तिमीले त आफ्नो जीवनमा एउटा असल ड्राइभर अनि असल खेलाडी बन्ने सपना लिएका थियौँ । तर तिम्रो सपनामाथि दुष्ट समाजका नरपिशाच स्वभाव भएका मानिसहरूले कुदृष्टि लगाए । एकै रातमा तिम्रो सपना निमेषभरमै भेरी नदीको किनारामा मिसियो । सपनाको त्यति लामो आयु हुँदो रहेनछ । सपना क्षणभरमै बिपनामा परिणत पनि हुँदो रहेछ, क्षणभरमै यसरी सत्यानाश पनि हुँदो रहेछ । तिम्रो हकमा तिम्रो सपना क्षणभरमै सत्यानाश भयो । के सोचेका थियौँ, के भोग्न बाध्य भयौँ । एउटा साथीलाई सहयोगका लागि तिमी सहयात्री बनेर साथमा गएका थियौँ । कसैले पनि सोचेको यो थिएन । तिमीले साथीका लागि दिएको यो बलिदान सदा सर्वदा अमर रहने छ । जुन साथीका लागि तिमी सहयोगी भावना बोकेर गएका थियौ उही साथीसँगै विलय भएर गयौँ । यस अर्थमा तिम्रो बलिदान र त्यागले उच्च सम्मान पाएको छ । तर तिमी लगायत यस घटनामा ज्यान गुमाएकाहरूको त्यो मृत शरीरमा फोहोरी राजनीतिकरण गर्न खोजिँदै छ । राजनीतिक दाउपेचमा लागेर यस घटनामा संलग्न अपराधीहरूलाई बचाउन खोजिँदै छ, शक्ति र सत्ताको आँडमा आएर, कानुनलाई हातमा लिएर यस्तो दानवीय शैलीको प्रदर्शन गर्ने जो कोही पनि उम्किनु हुँदैन । यदि तिमीहरूका अपराधीहरूलाई यो राज्यले शक्ति र सत्ताको आँडमा आएर बचाउ गर्न खोज्छ भने त्यसको क्षति यो राज्यले बेहोर्नुपर्ने हुन्छ ।

हुन त मदन भण्डारी जस्ता, निर्मला पन्त जस्ताको हत्याराहरू यो देशमा खुल्लमखुल्ला हिँडिरहेका छन् । तर त्यसो होइन । अहिले सत्य, तथ्य छानबिनका लागि सरकारले अनुसन्धान थालेको छ । त्यसको प्रतिवेदन सार्वजनिक नहुँदासम्म पीडित परिवारले धैर्यता गर्नुपर्ने हुन्छ तर त्यो अनुसन्धानले दोषी उपर कारबाही गर्ने ल्याकत राखेन भने बाँकी सङ्घर्षका कार्यक्रमहरू अघि बढ्ने छन् ।

गणेश भाइ, म यति बेला तिम्रो मृत शरीरलाई लिएर आफ्ना निर्जीव शब्दहरू लेख्ने कुचेष्टा गर्दै छु । अहिले म त्यस्तो कुनै ठाउँमा छैन जुन ठाउँमा भएको भए मामा माइजूले मबाट तिम्रा लागि थोरै भए पनि न्यायको आशा गर्नुहुन्थ्यो । थोरै भए पनि यस्तो बेला अरू प्रयासहरू मबाट हुने थिए तर यस अर्थमा म आफूलाई दोषी ठान्छु । किनभने मैले अहिलेसम्म तिमी जस्तै पीडितहरूका लागि केही गर्न सकिरहेको छैन । अन्यायको विरुद्धमा बुलन्द आवाज बनाउने सपना लिएर राजधानी छिरेको म जब यस्ता घटनाहरूका लागि बोल्न लायक हुँदिन आफैँलाई धिक्कार लाग्छ । तर भाइ मेरो यात्रा निरन्तर जारी छ । म जुन कुराका लागि यहाँ आएको हुँ त्यो लिएरै फर्किनेछु । सरकारले तिम्रा हत्याराहरू पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको दिन म सरकारको पक्षमा उभिनेछु, म यो लोकतान्त्रिक देशको नागरिक भएकामा गर्व गर्नेछु । सरकारलाई सलाम गर्नेछु । तर जुन दिन दोषीहरूलाई अनेक प्रपञ्च रचेर बचाउने प्रयास गरिन्छ त्यस दिनदेखि म तिम्रो हत्यारा पत्ता लगाउन यात्रामा निस्किनेछु ।

तिम्रा बाबा आमाले लोकतन्त्र ल्याउनका लागि नलडेका होइनन् । हिजो ०६२/०६३ सालको माओवादी जनआन्दोलनमा उहाँहरूको सक्रियता कम थिएन । दिनरात नभनीकन आन्दोलनमा सहभागी हुनुभएकै हो । तर आज यो दिन देख्नका लागि आन्दोलनमा सहभागी कोही पनि भएका होइनन् । आन्दोलनले त समाजमा रहेका वर्ग, विभेद, कुरीति, कुसंस्कारलाई सदाका लागि बिदाइ गर्ने एजेन्डा बोकेको थियो । समाजमा भएका दानवीय स्वभावका मानिसहरूको विरुद्धमा थियो यो आन्दोलन । जसमा तिम्रा बाबा आमाले पनि ‘हो मा हो’ मिलाए, ‘होइन मा होइन’ मिलाए । आन्दोलनको समर्थनमा उत्रिएका थिए । आफ्नै लागि लडेर ल्याएको यो लोकतन्त्र जब लुट तन्त्रमा परिणत हुन्छ, जब गुन्डा, गर्दी र हत्याराहरूको समूहले प्राथमिकता पाउँछ त्यस्तो व्यवस्थाका लागि भोक, तिर्खा नभनी लडिएको आन्दोलन आज व्यर्थ साबित भएको छ । यस्तो हुँदा जो कोहीलाई पनि पछुतो लागेको छ । मलाई थाहा छैन तिमीहरूका हत्याराहरूलाई यो देशको सरकारले कानुनी कट्घरामा ल्याउँछ या ल्याउँदैन ? तिमीहरूको न्यायका लागि लडिदिने यो देशमा कुनै न्यायालय छ या छैन ? तिमीहरूको अधिकारका लागि लडिदिने कुनै अधिकारकर्मी छन् या छैनन् ? यदि तिमीहरूको हत्यारा राजनीतिक आडमा भएकै मान्छेहरूले गरेको भए तिनलाई यो देशको कानुनले हतकडी लगाउने सामर्थ्य राख्छ या राख्दैन ? यस्ता तमाम प्रश्नहरू आज मेरो मानसपटलमा खेलिरहेका छन् । तर म अहिले नै यी प्रश्नहरूको जवाफ पाउन असमर्थ छु ।

मैले यति लेखिरहँदा अस्पतालको बेडमा सुतिरहेको तिम्रो मृत शरीरले मलाई धिक्कार गर्नेछ । धिक्कार यस अर्थमा गर्नेछ कि म लोकतान्त्रिक देशमा छु भनेर गर्व गर्दै छु । जुन तिमी पनि गुथ्यौँ र तिम्रा बाबा आमा पनि गर्नुहुन्थ्यो । तर लोकतान्त्रिक देशमा भएको गर्व गर्ने हाम्रा लागि आएको रहेनछ यो लोकतन्त्र । यदि आएको भए आज तिमी जीवितै हुन्थ्यौ, तिम्रा साथीहरू तिमी सँगै हुन्थेँ । परिवारमा कति खुसी हुन्थ्यो होला । तर अब यो सबै सम्झनामा मात्र सीमित भएको छ । जीवनको उतराद्र्धमा लाग्दै गरेका तिमी र तिम्रा साथीहरूको सामूहिक हत्याले आज देश नै शोकको घडीमा रुमल्लिएको छ । जीवन कसैको पनि सधैँ भरीका लागि छैन । मृत्यु सबैको हकमा सत्य छ । तिम्रो मृत्युको बाटो धेरै कठिन भयो । मानवताको चीरहरण गरेका मान्छेहरूले तिमीलाई टाउको फुट्ने गरी हात÷हतियारले हिर्काए र बगाइदिए सुसाउने भरीमा बेवारिसे लास झैँ । तिम्रो मृत शरीर खोजी गर्न त्यहाँका जनप्रतिनिधिले पनि सहयोग नै गरेनन् रे १ मामाहरूले जसरी भए पनि तिम्रो मृत शरीर फेला पार्नुभयो । मृत शरीर भरी चोटैचोट थिए । जब बाबा आमाले आफ्नै छोरो यो हालतमा देखे भने त्यो बेला उनीहरूको मन कति भाव विह्वल भयो होला रु त्यो म भन्न सक्दिन । तिमीसँगै गएका तिम्रा केही साथीहरू भाग्न सफल भए र बाँच्न सफल भए तर त्यो अवसर तिमीले सदाका लागि गुमाएका छौँ ।

प्रिय भाइ अब यात्रा अन्यायका विरुद्धमा छ । तिमीलाई न्यायको अनुभूति दिलाउने यात्रा कतिसम्म सफल हुन्छ या हुँदैन त्यो भोलिको कुरा हो । मैले तिम्रा लागि यो सब लेख्दै गर्दा तिम्रो चलायमान शरीरले यस संसारबाट सदाका लागि बिदा लिइसकेको छ । तिम्रो भौतिक शरीर हाम्रा सामु छैन तर तिम्रो लगनशीलता, तिम्रो त्यो त्याग र बलिदान हाम्रा सामु जीवितै छ । एउटा दाइ हुनुको नाताले भोलिका दिनमा तिम्रो हत्यारा पत्ता नलागेको खण्डमा आफ्नो तर्फबाट भरपुर सहयोग गर्नेछु । भर्खरै युवावस्थामा लागेका तिमी रहर पुरा नहुँदै, इच्छा, आकाङ्क्षा पुरा नहुँदै विलय भएर गयौँ । आफ्नो नातेदार भाइ गुमाउँदा स्तब्ध भएको छु । तिम्रो घटनालाई लुकीछिपी ढाकछोप गर्न खोजिए पनि कुनै पनि हालतमा यो पर्दाफास हुने नै छ । तिमी लगायत दुष्ट समाजको निर्मम कुटाइबाट ज्यान गुमाएका ३ नै जनामा भावपूर्ण श्रद्धाञ्जली । सबैको स्वर्गमा बास होस ।

उहीँ तिम्रो दाइ

नरेन्द्र