काठमाडौं । रुकुम पश्चिममा भएको घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ । गोताखोरसहितको २९ जनाको टोली परिचालन गरेर बेपत्ता ३ जनाको खोजी कार्य जारी भैरहेको छ ।

रुकुम पश्चिम चौरजहारीकी मल्ल थरकी केटी लिन जेठ १० गते शनिबार जाजरकोटका नवराज विक सहित १९ जनाको टोली त्यहाँ पुगेको थियो । जसमा त्यहाँका स्थानीयको ढुङ्गा÷मुढा प्रहारबाट नवराज विक, गणेश बुढा मगर र टिकाराम सुनार मृत अवस्थामा फेला परेका थिए भने अन्य ३ जना बेपत्ता भएका छन । तिनको खोजीका लागि सशस्त्रको टोलीसहित गोताखोर परिचालन गरिएको हो । अरु भागेर बाँच्न सफल भएका थिए ।

हराइरहेका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ की मल्ल थरकी केटी लिन १९ जनाको टोलीसहित जाजरकोटका नवराज विक त्यहाँ पुगेका थिए । केटी पक्षको निर्घात कुटाइबाट नवराजसहित ३ जनाको मृत्यु भएको छ जसमा ३ जना अझैँ बेपत्ता रहेका छन । समूहमा रहेका १२ जना घाइते भएका छन । उक्त घटनामा संलग्न चौरजहारी नगरपालिका–८ वडा अध्यक्ष डम्बर मल्लसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।