काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पार्ने संकेत देखाएका छन । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक गतिविधिलाई पनि प्राथमिकतामा राखेर अघि बढने बताएका हुन ।

अहिलेसम्म कोरोना भाइरस रोकथामका लागि कुनैपनि औषधि आविष्कार नभएकाले नेपालमा यसको जोखिम न्यूनीकरणका लागि आर्थिक र सामाजिक कार्यहरु अगाडि बढाइने उनले बताए । कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उद्योगलाई सञ्चालनको अनुमति दिइनेछ, उत्पादन गर्न दिने र बजारसम्म पुग्न अवरोध नहुने गरी प्रबन्ध मिलाइनेछ ।’ उनले तोकिएको प्रोटोकल हेरेर उद्योग सञ्चालन गर्न दिने बताएका छन ।

कोरोना महामारीका बीच पनि देशको अर्थतन्त्रलाई चलायमान बनाइराख्ने कतिपय राष्ट्रिय गौरवका आयोजना र विकासका आयोजनाहरु पूर्ण रुपमा सफल भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन । कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टि भएको उल्लेख गर्दै अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइने प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

उनले भने, ‘काममा आउने आफ्ना श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन–जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग–व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ । यसको प्रभावकारिताको आधारमा क्रमशः थप व्यवसाय सञ्चालनको प्रक्रिया अघि बढाइने छ ।’ दैनिक आवश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन बृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको श्रृङ्खला अवरुद्ध हुन नदिइने प्रधानमन्त्रीले घोषणा गरेका छन । अत्यावश्यक सेवाको ढुवानी र आयात÷निर्यातमा जोड दिने पनि उनले बताएका छन ।

उनले भने, ‘खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइनेछ । समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाईलाई भने कायमै राखिनेछ ।’ राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई निरन्तरता दिने र हाल निर्माणका क्रममा रहेका आयोजनाहरुलाई विशेष प्राथमिकता दिने पनि उनले बताएका छन ।


शैक्षिक संस्थाहरुको पढाइलाई निरन्तरता दिइने र त्यसका लागि अनलाइन प्रणालीलाई निरन्तरता दिने पनि उनले उद्घोष गरेका छन ।