काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिँदै गएपछि यति बेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बिच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यति बेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरू उडान खुल्ने प्रतीक्षामा छन् । कोरोना भाइरस सुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

चापाकोट नगरपालिका–१ घर भई हाल ब्रिटेन९युके०मा बस्दै आएका विष्णु थापाले लन्डनमा बस्ने नेपालीको अवस्था दयनीय रहेको बताए। दिनदिनै मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि युकेमा रहेका भूतपूर्व गोरखा सैनिक र उनीहरूका परिवार समस्यामा परेको थापा बताउँछन् । थापाका अनुसार युकेमा अधिकांश भूतपूर्व सैनिकका परिवार बसोबास गर्दै आएको र उनीहरू वृद्घवृद्घा भएको आफन्त एवं परिवार नेपालमा भएकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।

अधिकांश भूतपूर्व गोरखा सैनिकका परिवार वृद्धवृद्धा र त्यसमाथि भाषाको समस्या हुँदा मन लागेको कुरा किनेर खान र बिरामी पर्दासमेत उपचारमा समस्या हुने गरेको थापाले बताए । थापाले भने, “म पनि एक महिनादेखि जागिर छाडेर होम क्वारेन्टिनमा बसेको छु, अहिले बाहिर निस्कने अवस्था छैन, कति बेला के हुने हो भन्ने चिन्ताले सताएको छ ।”

युकेको अल्डसटमा बस्दै आएका चितवनका ७७ वर्षीय भोजराज पौडेल र उनकी श्रीमती ६६ विष्णुमाया पौडेल अहिले समस्यामा परेका छन् । बुढेसकालमा विदेशी भूमिमा आफन्त कोही नभएर बेसहारा हुनुपर्दा समस्यामा परेको पौडेल दम्पतीको भनाइ छ ।

भोजराजले युकेबाट टेलिफोनमा भने, “म बिरामी छु, बुढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेका छौँ ।” विष्णुमायाले भनिन, “के गर्ने छोराछोरीको भविष्यका लागि यहाँ बसेर दुःख गरेका छौँ ।” छोराछोरीको कागजपत्र नमिलेकाले आफूहरू समस्या झेलेरै भए पनि बस्न बाध्य भएको पौडेल दम्पतीको भनाइ छ ।

लन्डनको एक केयर होममा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी शर्मिला राना थापाले सुरु सुरुमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न आवश्यक सामग्रीको अभावमा काम गर्नु पर्दा निकै डर लागे पनि अहिले भने त्यस्तो नभएको बताइन् । शर्मिलाले भनिन, “स्वास्थ्यकर्मी भएपछि डराएर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन सुरक्षित भएर काम गर्नुपर्छ । अहिले हामी त्यसै गरिरहेका छौँ ।” सुरु सुरुमा आफूहरूले पनि पिपिइ, मास्कको अभाव झेल्नुपरे पनि अहिले भने त्यस्तो नभएको थापाले बताइन । रासस