काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न भोजपुरका सबैनाका सिल गरिएको छ। अन्य जिल्लामा आयात हुने तरकारीमा पनि रोक लगाइएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोक्नका लागि शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान साढे ५ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र सञ्चालन हुने, अन्य स्थानीयस्तरमा लाग्ने हटिया पूर्णरूपमा बन्द गर्न लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

शनिबारे र बुधबारे हटिया बन्द गर्ने निर्णय भएको छ । बजार क्षेत्रमा तरकारी अभाव हुने नदिन देउरालीचोकबाट नगरपालिका भवनसम्म १०–१० मिटरको दूरी कायम गरी तरकारी किनबेच गर्न पाउने व्यवस्था मिलाएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणसँगै स्थानीयस्तरमा उत्पादन भएको तरकारी खपत गराउने उद्देश्यका साथ बाहिरी जिल्लाबाट आउने तरकारी यही जेठ २० गतेसम्मलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

अत्यावश्यक कामले विभिन्न ठाउँबाट आएका नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा १४ दिन राख्ने, भारतलगायत अन्य मुलुकबाट रोजगारी गरेर फर्केर आएकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाको पूर्वीनाका अरुण नदीको लेगुवाघाटबाट मात्र प्रवेश गराइ केही दिन अरुण गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा राख्ने निर्णय भएको छ ।

यसैगरी बैठकले कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सरकारी स्तरबाट लागू गरिएको बन्दाबन्दी (लकडाउन) लाई थप कडाइका साथ लागू गर्ने, अत्यावश्यक सेवाबाहेक अन्य सेवा पूर्ण बन्द गर्ने, कही कतै, कोही यात्रा गरिरहेका भए तिनलाई कम्तीमा पनि १४ दिन स्थानीय सरकारको क्वारेन्टाइनमा राख्ने, जथाभावी हिँडडुल गर्न नदिने जस्ता निर्णय गरेको छ । धनकुटामा संक्रमितको संख्या बढ्न थालेपछि भोजपुरका सबै नाका बन्द गरिएको हो ।